देशको अवस्था यस्तो छ, परदेशीले के आशा बोकेर नेपाल फर्कने ?

 पुस २९, २०७८ बिहिबार १६:३९:२८ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

नारायण काेइराला/पाल्पा, हाल यूएई

हामी गणतान्त्रिक देशका नागरिक हौं भन्दा खुसी लाग्छ । तर देशमा गणतन्त्र आउनु भन्दा पहिलेदेखि नै दलदलमा फसिरहेको हाम्रो देश नेपाल र नेपालका युवाको भविष्य हेर्दा अन्यौलपूर्ण नै रह्यो । कोही झोला र झण्डाको पछि लागे त कोही परदेशिन बाध्य भए । आज पनि अवस्था बदलिएको छैन । युवाहरू परदेशिएका नै छन् । स्वदेशमा झोला र झण्डा बोक्नेको कमी पनि छैन । झोला र झण्डा बोक्ने सबै सफल भए भन्ने कुरो पनि होइन । कतिपय बिचल्लीमा पनि परेका छन् । 

अहिलेको अवस्थामा पनि राजनीतिक मनमर्जी कायम नै छ । देश कोरोना कहरमा डुब्दै छ । राजनीति पार्टीहरूलाई त्यसको कुनै पर्वाह छैन । नीति र नियम जनतामाथि  मात्र लाद्ने परम्परा आज पनि कायम छ । पार्टीहरू नेपालको संविधान मुनि भए पनि नेताहरुको रबैया भने अचम्मको छ । जनतालाई गरिखान पनि समय तोक्ने अवस्था छ । यस्तो अवस्थामा सभा भाषण भन्दा पनि जनताको लागि केही गर्नुपर्ने होइन र ? तर नेताहरु त भाषण र पार्टी सभाकै दौडधुपमा छन् । जनताका पीडाहरुको कसैलाई पनि मत्लब छैन । जब सम्म प्रशासनिक सुधार र घुसखोरी मनस्थितिमा परिवर्तन आउँदैन, नेताहरुको दौडधुप बनावटी नै हुने देखिन्छ ।

देशको नीति बदलियो । शासन बदलियो । शासक बदलिए । जे बदलिए पनि देशको अवस्था बदलिएन । गरीब गरीब नै रहे । बेरोजगार जस्ताको तस्तै रहे । देशमा केही नलागेर परदेश भासिए । तर एक दिन त देश फर्किनु नै पर्छ आखिर । तर देशमै यस्तो  अवस्था हुँदा परदेशीहरु के आशा लिएर घर फर्कने भन्ने कुरामा दोधार छन् ।

अहिले देश विदेश सबैतिर अवस्था असामान्य छ । कोरोनाको महामारी बढ्दै छ । कतिपय कम्पनीहरु अहिलेको अवस्थामा कामदारको माथि दबाब पनि दिँदै छ्न । परदेशमा हुनेहरू रोइरहेको अवस्थामा स्वदेशबाट युवा कामको खोजीमा विदेश पस्नु अर्को दुःख लाग्दो कुरो छ । तर पेट र परिवारको जिमेवारीले  परिस्थिति कस्तो छ भनेर हेर्दो रहेनछ ।

विदेशमा पनि अब सजिलै काम पाउने र पुराना  काम गरिरहेको  कम्पनीमा निरन्तर काम रहन्छ भन्ने कुनै निश्चित छैन । बरु कुनबेला भएको काम पनि फुत्किएर बेरोजगार भइन्छ भन्ने डर छ । यही डरसँगै देशले केही गर्छ कि भन्ने आशा पालेर बसेका छन् । 

सरकारबाट परदेशीहरुले चाहने भनेको स्वदेश आउँदा सीप अनुसार श्रमिकलाई व्यवस्थापन गर्नु हो । तर त्यसको लागि  सरकारसँग के नीति छ ? कागजमा लेखिएको होइन, व्यवहारमा उतारिएको नीति के छ ? हामीलाई डर छ नेपाल फर्कदा कुन पार्टीको भनेर सोध्ने हो कि ? हामीसँग त पार्टीको  झोला र झण्डा बोकेको प्रमाण त छैन नि । छ त केवल परदेशमा पसिना बगाएर सिकेको सीप । यस्तो अवस्थामा के हामीलाई सरकारले सहयोग गर्ला त ?

अन्तिम अपडेट: माघ २, २०७८

तपाईको प्रतिक्रिया