नरभक्षी बाघ खाेज्न तीन हात्तीसहितको टोली परिचालन

 पुस ३०, २०७८ शुक्रबार १०:१९:८ | रासस
unn.prixa.net

फाइल फाेटाे

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा बाघको आक्रमण बढ्दै गएपछि त्यो बाघको अनुगमन र नियन्त्रणका लागि टोली खटिएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा बाघको आक्रमण बढेपछि निकुञ्जले बाघको अनुगमन र नियन्त्रणका लागि काम थालेको हो । 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवम् सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले विनयी त्रिवेणी क्षेत्रमा निकुञ्जबाट तीन हात्तीसहितको टोली परिचालन गरिएको बताउनुभयो । ‘बाघले आक्रमण गरेको क्षेत्र निकुञ्जको क्षेत्र नभएर राष्ट्रिय वनमा पर्ने क्षेत्र हो’, तिवारीले भन्नुभयो, ‘तर हामीले डिभिजन वन कार्यालय नवलपुरसँग सहकार्य गरेर बाघको अनुगमन र खोजीको काम सुरु गरेका छौँ ।’ बाघको अनुमगनका लागि हात्तीसहित रेन्जर, प्राविधिक र सुरक्षाकर्मीको टोली खटिएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । 

‘हामीलाई जानकारीमा आएअनुसार बाघले मानिसलाई वन क्षेत्रमा आक्रमण गरेको छ, त्यसैले मानिसलाई आक्रमण गर्ने बाघ कुन हो भनेर हामीले क्यामेरा ट्र्यापिङका माध्यमबाट अनुगमन गरिरहेका छौँ’, तिवारीले भन्नुभयो, ‘अनुगमन नै नगरि एक्कासी बाघ नियन्त्रणमा लिँदा मान्छेलाई आतङ्कित पारेको बाघ छुट्ने र अर्को बाघ नियन्त्रणमा लिने काम हुन सक्छ, त्यसैले अनुगमनपछि यकिन गरेर बाघ नियन्त्रण हुन्छ ।’ बाघ नियन्त्रणमा लिन जोखिम भएको भन्दै तिवारीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागमा पत्राचार गरिसकिएको र उताबाट लिखित आदेश आएपछि बाघ नियन्त्रणको कामलाई अगाडि बढाइने बताउनुभयो । 

‘हामीले सोचेजस्तो बाघ एकै ठाउँमा बस्ने प्राणी होइन, बाघ ठूलो क्षेत्रफलमा हिँडिरहन्छ’, तिवारीले भन्नुभयो, ‘वन क्षेत्रमा दिउँसोमा सुरक्षा सतर्कता अपनाउँदै अनुगमन भइरहेको छ, बाघको ताजा पाइला देखेको अवस्थामा त्यहीअनुसार अनुगमन हुन्छ ।’ दुम्कीबास आसपास क्षेत्रमा डेढ महिनायता बाघले दुई जनालाई खाइसकेको छ भने एक हप्ताअघि मध्यविन्दुमा एक जनालाई आक्रमण गरेर गम्भीर घाइते बनाएको छ । बाघले निकुञ्जभन्दा बाहिरको मध्यवर्ती क्षेत्र र राष्ट्रिय वनको क्षेत्रमा आक्रमण गरेको हो । 

बाघको आक्रमणबाट दुई जनाको ज्यान गइसकेको र अर्का एक जना गम्भीर घाइते भएपछि स्थानीयवासी जङ्गल जान छोडेका छन् । चौपाया चराउन जङ्गल जानेले ठाउँ–ठाउँमा बाघ देखेको खबर गरेपछि स्थानीयवासी त्रसित छन् । विनयी त्रिवेणी गाउँपालिकाले चितवन राष्ट्रिय निकुञ्ज र जिल्ला वन कार्यालयलाई पत्र पठाएर बाघ नियन्त्रणमा लिन आग्रह गरेको एक हप्तापछि निकुञ्जले बाघ नियन्त्रणमा लिन टोली खटाएको हो । 

बाघले नवलपुरको पहाडी इलाका डाँडाजोर क्षेत्रमा गाईवस्तुसमेत खाएको छ । त्यो क्षेत्रमा पनि बाघ ट्र्यापिङका लागि क्यामेरा राखिएको छ । मान्छेलाई आक्रमण गर्ने र गाईवस्तु खाने बाघ एउटै हो कि फरक–फरक बाघ हो भन्ने पत्ता लगाउन कठिन भएकाले बाघ नियन्त्रणमा लिन केही समय लाग्ने सूचना अधिकारी तिवारीले बताउनुभयो । बाघको आक्रमणबाट नवलपुरको दुम्कीबासमा गएको मङ्सिर ११ गते वन हेरालु र यही पुस १६ गते साग टिप्न घर नजिकैको जङ्गल गएकी मध्यविन्दु नगरपालिका–१२ की एक महिलाको ज्यान गएको थियो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया