सातौँ राष्ट्रिय योग दिवस : कोरोना सङ्क्रमितलाई पनि योगाभ्यास गराइने

 माघ १, २०७८ शनिबार ७:५३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज सातौँ राष्ट्रिय योग दिवस मनाइँदै छ । नेपालमा २०७२ सालदेखि हरेक वर्ष माघ १ गते योग दिवस मनाउने गरिएको छ ।

दिवसको यसवर्षको नारा ‘सर्वाङ्गीय विकासका लागि योग’ भन्ने रहेको छ । योगका लागि उत्तरायण महत्त्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो ।

प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । तर, बिलासी जीवनशैलीका कारण योग ओझेलमा परे पनि पछिल्लो समय योग र ध्यानमा आकर्षण बढ्दो छ । दिवसका अवसरमा यसपालि भर्चुअल माध्यमबाट कार्यक्रम हुँदैछन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका निमित्त महानिर्देशक डाक्टर श्यामबाबु यादवले कोरोना भाइरसको जोखिमका कारण भर्चुअलरूपमा दिवस मनाउन थालिएको जानकारी दिनुभयो।

उहाँले विभागकै हलमा २५ जनाको उपस्थितिमा सातैप्रदेशलाई भर्चुअलरूपमा जोडेर योगाभ्यास र जनचेतनामूलक कार्यक्रम गर्ने बताउनुभयो । उहाँले दिवसकै अवसरमा आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितलाई पनि योगाभ्यास गराउने बताउनुभयो ।

विभागका निमित्त महानिर्देशक डा यादवले योगले मानिसको सकारात्मक सोच विकास गर्नुको साथै रोग प्रतिरोधात्मक क्षमताको विकास गराउने बताउनुभयो ।

विभागका जडीबुटी, औषधि व्यवस्थापन तथा अनुसन्धान महाशाखा प्रमुख डा सन्तोषकुमार ठाकुरले मानिसले शारीरिकभन्दा प्रविधिबाट धेरै काम गर्ने थालेकाले शरीर चलायमान गराउनका लागि योग अनिवार्य रहेको बताउनुभयो ।

योगको नियमित अभ्यासले रोग प्रतिरोधी क्षमता बढ्ने भएकाले कोरोनाबाट बच्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया