सर्वसाधारणको लापर्बाहीले स्वास्थ्यकर्मीमा काेराेना संक्रमण बढ्ने भन्दै सावधानी अपनाउन मन्त्रालयकाे आग्रह

 माघ ७, २०७८ शुक्रबार १५:५९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – सर्वसाधारणको लापर्बाहीले स्वास्थ्यकर्मीमा कोभिड संक्रमण बढ्ने भन्दै सबैलाई सावधानी अपनाएर काम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण गराएको छ ।

स्वास्थ्यकर्मीहरुमा कोभिड संक्रमणको दर बढ्न गइ स्वास्थ्य सेवा प्रवाहमा प्रत्यक्ष असर गर्ने भन्दै आम नागरिकहरुलाई स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न आग्रह गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले ओमिक्रोन भाइरस स्वास्थ्यका हिसाबले कम जोखिमपूर्ण रहे पनि संक्रमण दर बढाइरहेको बताउनु भयो । उहाँले आम मानिसहरुले स्वास्थ्य सम्बन्धी सरकारले बनाएका मापदण्ड पूर्ण पालना गर्ने र कोरोनाविरुद्धको खोप अनिवार्य लगाएमा बढ्दो कोरोना संक्रमणलाई कम गर्न सकिने बताउनु भयो ।

सह प्रवक्ता अधिकारीले ओमिक्रोन भेरियन्ट तीव्र संक्रामक रहेकोले घर परिवारमा पनि कोभिडबाट आफू बच्न र अरुलाई पनि बचाउनका लागि स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने र आफूलाई संक्रमण भए ७ दिनअघिसम्म भेटघाट गरेका मानिसहरुलाई सचेत गराउन अनुरोध गर्नुभयो । उहाँले सरकारले स्वास्थ्यका पूर्वाधारहरु बढाए पनि स्वास्थ्यकर्मीहरु गुणात्मक रुपमा बढाउन असहज भएको बताउनु भयो । सह प्रवक्ता अधिकारीले असावधानीका कारण कोरोनाबाट हुने जनधनको क्षति हुन नदिन सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग र सचेत रहनुपर्ने बताउनु भयो ।

यस्तै उहाँले कोभिड १९ संक्रमण पुष्टि भएको ७ दिनसम्म अनिवार्य रुपमा आइसोलेशनमा बस्नुपर्ने र त्यसपछि पनि लक्षण देखिए थप आइसोलेशनमा बस्न सुझाव दिनुभयो । उहाँले कोरोना भएको ७ दिनसम्म आइसोलेशनमा बसेको छ र सातौँ दिनपछि कुनै लक्षण देखिएको छैन भने कोरोना परीक्षण गराउनुको कुनै औचित्य नरहेको पनि स्पष्ट पार्नुभयो ।

अतिरिक्त खोप सरकारले उपलब्ध गराइरहेकोले पहिला लगाएको खोप मात्रै लगाउनु पर्ने उहाँकाे भनाइ छ ।

'कोभिशील्ड र अस्ट्राजेनिका नाम फरक भए पनि बनाउने प्रक्रिया एकै भएकोले यी दुई खोपमा भने रोजेर लगाउन सकिन्छ', उहाँले भन्नुभयाे, 'विभिन्न अध्ययन र विश्व स्वास्थ्य संगठनले भनेअनुसार नै नेपाल सरकारले अतिरिक्त कोरोनाबिरुद्धको खोप लगाउने सम्बन्धी निर्णय गरेकोले पहिलो र दोस्रो डोजमा लगाएको खोप नै अतिरिक्त डोजको रुपमा लगाएमा मात्रै त्यसले सकारात्मक प्रतिक्रिया दिन्छ ।'

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया