आज सर्वदलीय बैठक नबस्ने

 माघ ८, २०७८ शनिबार १०:४८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहानका लागि बोलाएको सर्वदलीय बैठक नबस्ने भएको छ ।

प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक नै नबोलाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिक्रिया दिनुभएको छ ।

यसअघि हिजोको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि प्रधानमन्त्रीको सचिवालयले पालिका तहको चुनाव तथा संसद्को अवरोध हटाउनेबारे छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जनाएको थियो ।तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकका बारेमा आफूहरुलाई जानकारी प्राप्त नभएको र बैठकमा सहभागी पनि नहुने जनाएको थियो ।

एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पालिकाको चुनाव आउँदो जेठ महिनाभन्दा पर धकेल्ने कुनै पनि कार्यमा नेकपा एमालेको सहमति नहुने समेत स्पष्ट पार्नुभएको छ । यसअघि पुस ४ गते प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी भएको थिएन।

त्यसपछि प्रधानमन्त्री देउवाले पुस २४ गते एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उहाँकै निवास बालकोट पुगेर भेट्नुभएको थियो। एमालेले आफूले कारबाही सिफारिस गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले कार्यान्वयन नगराएको भन्दै संसद् अवरुद्ध गर्दै आएको छ ।

अवरोधकै कारण स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक आउँदो माघ १६ गतेका लागि बोलाइएको छ ।
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया