भिजिट भिसाकाे दुरुपयाेग गर्नेमाथि निगरानी राख्न गृहमन्त्रीकाे निर्देशन

 माघ ११, २०७८ मंगलबार २०:२४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाणले भिजिट भिसाको दुरुपयाेग नगर्न नेपाली नागरिकलाई आग्रह गर्नुभएको छ । 

गृहमन्त्री खाणले आज मङ्गलवार वैदेशिक रोजगारसँग सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गर्दै भिजिट भिसा दुरुपयोग गरेर नेपाली नागरिकले तेस्रो देशमा पीडा भोग्नुपरेको उल्लेख गर्दै त्यसको दुरुपयोग नगर्न आग्रह गर्नुभएको हो । उहाँले भिजिट भिसामा गएर त्यसको दुरुपयोग गर्नेमाथि निगरानी राख्न पनि मातहतका निकायलाई निर्देशन दिनुभयो ।

गृहमन्त्री खाणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई अझ प्रयत्न गर्न सचेत गराउनुभयो । उहाँले वैदेशिक रोजगारीमा गएकाहरू ठगीको चपेटामा पर्ने गरेको उल्लेख गर्दै उनीहरूको उद्धारमा सरकार गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो । गृहमन्त्री खाणले कोभिड सङ्कटको चपेटामा परेका आफ्ना नागरिकलाई विदेशी भूमिमा काम गर्ने क्रममा समस्या नआओस् भन्नेमा सरकार गम्भीर रहेको उल्लेख गर्नुभयाे । 

बैठकमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारमा गएका नेपालीमाथि बिचौलियाले ठगी गरेको उल्लेख गर्दै कारबाहीका लागि अनुसन्धान गर्न छुट्टै प्रहरी युनिट परिचालन गर्ने व्यवस्था गर्न गृहमन्त्री खाणसँग आग्रह गर्नुभयो । उहाँले यूएईमा घरेलु कामदार महिलाहरूको समस्या ठूलो रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि पनि गृह मन्त्रालयको सहयोग आवश्यक रहेको बताउनुभयो । 

श्रममन्त्री श्रेष्ठले श्रम मन्त्रालय एक्लैको प्रयासबाट मात्रै विदेशमा रहेका नेपाली नागरिकको समस्या समाधान गर्ने अवस्था नरहेको पनि बैठकमा पटक–पटक दोहोर्‍याउनुभयाे । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया