काठमाण्डौ विश्वविद्यालयले बीटेकएडको पढाइ सुरु गर्ने

 माघ १६, २०७८ आइतबार १५:३९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै विश्वविद्यालयले ब्याचलर अफ टेक्निकल एजुकेसन (बीटेकएड) को पठनपाठन सुरु गर्ने भएको छ । विश्वविद्यालयले आज आइतवार पत्रकार सम्मेलन गरी सिभिल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ र सूचना प्रविधि विषयमा बीटेकएडको पढाइ सुरु गर्न लागेको जानकारी दिएको हो ।

प्राविधिक तथा व्यावसायिक शिक्षा अध्यापन गर्ने जनशक्ति उत्पादन गर्न पठनपाठन सुरु गर्न लागेको विश्वविद्यालयको स्कुल अफ एजुकेसनका डिन प्रा. डा. बालचन्द्र लुइँटेलले जानकारी दिनुभयो । नेपालमा प्राविधिक तथा व्यावसायिक विषयको पठनपाठन सुरु भएको झन्डै साढे तीन दशक बितिसक्दा पनि ती विषय अध्यापन गर्ने शिक्षक उत्पादन नभएको बताउँदै उहाँले अब आफूहरूले नेपालमा पहिलो पटक ती विषय अध्यापन गर्ने व्यावसायिक जनशक्ति उत्पादन गर्ने बताउनुभयो । उहाँले साधारण धारतर्फका शिक्षकले प्राविधिक विषय पढाउन नमिल्ने भएकाले अहिले त्यस्ता संस्थामा अध्यापनरत शिक्षकलाई अध्यापनको औपचारिक विधिसँग नजोडिएको बताउनुभयो ।

बीटेकएड अध्ययन गर्न न्यूनतम कक्षा १२ वा सम्बन्धित विषयमा डिप्लोमा गरेको हुनुपर्ने तोकिएको छ । चार वर्षको अध्ययनका लागि पाँच लाख ७२ हजार रुपियाँ खर्च लाग्ने विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले सिभिलमा २० जना, सूचना प्रविधिमा ५० जना र मेकानिकल विषयमा ३० जना विद्यार्थी भर्ना गर्ने जनाएको छ । जानकी कलेज अफ प्रोफेसनल स्टडिज जनकपुर, सिन्धुली सामुदायिक प्राविधिक इन्स्टिच्युट सिन्धुली र बुटवल टेक्निकल इन्स्टिच्युट बुटवलमा यी विषयको अध्ययन सुरु हुनेछ । यसका लागि भर्ना आवेदन माग गरिसकिएको विश्वविद्यालयले जनाएको छ । 

अन्तिम अपडेट: जेठ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया