उपचुनाव हुने पालिकाहरुमा १६ गते सार्वजनिक बिदा दिन आयोगको ...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने भएको छ । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारबाट फर्केर उद्यम गरेका व्यक्तिलाई आवेदन दिन आग्रह गरेको छ ।
वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीले आउँदो फागुन १० गतेभित्र आवेदन दिनसक्ने छन् ।
कामदार भिसामा विदेश गइ कम्तीमा एक वर्ष काम गरी फर्किएका, वैदेशिक रोजगारीबाट फर्किएर व्यवसाय सञ्चालन गरेको न्यूनतम एक वर्ष पूरा भएको र विगत पाँच वर्षभित्र श्रम मन्त्रालयबाट पुरस्कार प्राप्त नगरेका व्यक्तिले आवेदन गर्न सक्ने सूचनामा उल्लेख छ । पुरस्कार आवेदन फारम श्रम मन्त्रालयको वेबसाइटमा राखिएको छ ।
आवेदनका साथमा नेपाली नागकिताको प्रमाणपत्र, श्रम स्वीकृति, भिसासहितको राहदानी, आयकर दर्ता प्रमाणपत्र र गएको आर्थिक वर्ष करचुक्ता प्रमाणपत्रको प्रतिलिपि तथा यसअघि पुरस्कार प्राप्त नगरेको स्वघोषणा पेस गर्नुपर्नेछ ।
आवेदन फाराम मन्त्रालयको रोजगार समन्वय तथा सूचना शाखामा दर्ता गराउन वा इमेल गर्न सकिने सूचनामा जनाइएको छ । प्राप्त आवेदनमध्येबाट उत्कृष्ट उद्यमीलाई सम्मान गरिने छ । सातै प्रदेशबाट कम्तीमा पनि एक जना नछुट्ने गरी उद्यमी छनोट गरिनेछ ।
आवेदकमध्ये एक जनाले एक लाख ५० हजार रुपैयाँसहित उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार र बढीमा सात जनाले ७५ हजार रुपैयाँको उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गर्नेछन् ।
वैदेशिक रोजगारीबाट फर्किएका नेपालीले रोजगारीका सिलसिलामा आर्जन गरेका ज्ञान, सीप, अनुभव र पुँजीलाई सदुपयोग गर्न राज्यबाट विशेष प्रोत्साहन गरी विदेश जाने वा विदेशमा नै अवैधानिक तवरबाट बस्ने प्रवृत्तिमा न्यूनीकरण गर्न सरकारले स्वदेश फर्की सफल उद्यम गर्ने व्यवसायीलाई सम्मान गर्न लागेको मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।