सङ्खुवासभाको दुर्गम सिलिचोङ गाउँपालिकामा आँखाको उपचार केन्द्र स्थापना

 माघ २०, २०७८ बिहिबार ९:२२:१७ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा - सङ्खुवासभाको दुर्गम सिलिचोङ गाउँपालिकामा आँखा उपचार केन्द्रको स्थापना भएको छ ।

सिलिचोङ गाउँपालिका र तेजरन्त आँखा तथा कान उपचार केन्द्र खाँदबारीको संयुक्त साझेदारीमा सिलिचोङमा आँखा उपचार केन्द्रको स्थापना गरिएको हो ।

गाउँपालिकाको केन्द्र ताम्कुमा रहेकाे ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा उपचार केन्द्र स्थापना गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र कुलुङले बताउनुभयो । दुर्गम ताम्कुमा सोमवारदेखि आँखा उपचार सेवा सुरुवात गरिएको छ । पहिलो दिनमा नै गाउँलेहरुको निकै भीड लागेको कुलुङले बताउनु भयाे । 

सदरमुकाम खाँदबारीमा हुने आँखासम्बन्धी सबै सेवा ताम्कुमा नै हुने भएपछि सिलिचोङवासीले आफ्नै ठाउँमा सहुलियतदरमा सेवा लिने भएका छन् । तेजरत्न आँखा तथा कान उपचार केन्द्रले आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने र कर्मचारीसहित व्यवस्थापनको काम गाउँपालिकाले गर्ने गरी सम्झौता भएकाे छ ।

गाउँपालिकाले आँखाकाे चेकजाँचका लागि स्वास्थ्यकर्मी सिर्जना राईलाई नियुक्ति गरिसकेको छ । सिलिचोङ गाउँपालिकाकै स्वास्थ्यकर्मी छत्रबहादुर शिवालाई तालिम दिन दक्ष बनाइएको जनाइएको छ ।

दुर्गम सिलिचोङमा नै आँखाको उपचार हुन थालेपछि स्थानीयहरुलाई खाँदबारी आउने झन्झटकाे अन्त्य भएको छ । स्थानीयस्तरमा आँखा उपचार केन्द्रको स्थापना भएपछि गाउँलेहरु खुसी भएका छन्। 


 

अन्तिम अपडेट: बैशाख ८, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया