वैदेशिक रोजगारीमा गएकाहरुकाे तथ्याङ्क सङ्कलन गर्दै वालिङ : सीपकाे आधारमा 'राेजगार पाेर्टल' निर्माण गरिने

 माघ २६, २०७८ बुधबार १०:१४:३४ | रासस
unn.prixa.net

स्याङ्जा – स्याङ्जाको वालिङ नगरपालिकाले आप्रवासी श्रमिकको तथ्याङ्क सङ्कलनको तयारी थालेको छ । नगरपालिकाको आयोजनामा सुरक्षित आप्रवासन परियोजना (सामी), हेल्भेटास नेपाल र अन्धाअन्धी सामुदायिक विकास केन्द्रको सहयोगमा नगरपालिकाले गणकलाई तालिम दिइ आजदेखि परिचालन गर्दैछ ।

वालिङ नगरभित्रका नागरिक वैदेशिक रोजगारीमा गएका वा गएर फर्केकाको तथ्याङ्क सङ्कलन गर्ने, उनीहरुको सीप, योग्यतालगायत विवरण सङ्कलन गरिने नगरप्रमुख दिलीपप्रताप खाँणले जानकारी दिनुुभयो ।

“वालिङका नागरिक वैदेशिक रोजगारीमा कति छन्, कति फर्किए, उनीहरुसित के–कस्तो सीप छ वा बेरोजगार छन् यी सबै विवरण गणकले घर–घरमै पुगेर सङ्कलन गर्नेछन्”, उहाँले भन्नुभयो, “इच्छुकको नामावली, सीप, क्षमता, योग्यतालाई ‘रोजगार पोर्टल’ निर्माण गरी राख्ने योजना छ ।”

‘रोजगार पोर्टल’ मा इच्छुकको नामावली राखेसँगै उद्योग तथा कलकारखानालाई आवश्यक पर्दा सहजरूपमा उपलब्ध गराउन सकिने छ । “वैदेशिक रोजगारीबाट स्वदेश फर्केकाको सीप, क्षमताको विवरण ‘रोजगार पोर्टल’मा उल्लेख गरिन्छ”, उहाँले भन्नुभयो, “त्यही पोर्टलमा उद्योग तथा कलकारखानालाई आवश्यक पर्ने जनशक्तिको पनि विवरण राखिने छ, कामदारले काम पाउने र उद्योगले कामदार पाउन सहज हुने छ ।”

वालिङका कति नागरिक वैदेशिक रोजगारीमा छन्, कति फर्किएका छन्, फर्किएका वालिङका नागरिकको स्थिति के छ भन्ने बुझ्नका लागि १४ वटै वडामा गणक खटाइएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताउनुभयो । “एक महिनासम्म १७ गणकले गाउँ–गाउँमा पुगेर विवरण सङ्कलन गर्नेछन्”, उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीमा गएका वा फर्केका यहाँका नागरिकको अवस्थाका बारेमा यथार्थ जानकारी भएसँगै यससम्बन्धी आगामी दिनमा नीति तथा कार्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याउन सहज हुने छ ।”

‘कोभो एप्स’को प्रयोग गरेर गणकले डिजिटल प्रविधिबाट तथ्याङ्क सङ्कलन गर्नेछन् । वैदेशिक रोजगारीमा गएका नागरिकले पठाउने रेमिट्यान्स र घरपरिवारले त्यसको प्रयोग के काममा गरेका छन् भन्ने विवरणसमेत गणकले घर–घरमै पुगेर लिने भट्टराईले बताउनुभयो । सत्र गणकलाई दुईदिने तालिम दिएर आजदेखि वडा–वडामा जिम्मेवारी दिएर पठाइएको सामी परियाेजना स्याङ्जाका कार्यक्रम संयोजक एकनारायण सापकोटाले जानकारी दिनुभयो ।

यथार्थ र तथ्यपरक विवरण सङ्कलनका लागि गणक घर–घरमा गए–नगएको एप्समार्फत नै निगरानी गरिने उहाँले बताउनुभयो ।

“गणकले एप्सको प्रयोग गरेर दुई प्रकारबाट विवरण सङ्कलन गर्नेछन्”, सापकोटाले भन्नुभयो, “एउटा वैदेशिक रोजगारीमा गएर फिर्ता भएका व्यक्ति र अर्को वैदेशिक रोजगारीमा रहेकाको घरपरिवारबाट फरक–फरक विवरण सङ्कलन हुनेछ ।”

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया