अमेरिकाले एमसीसीका नाममा ‘खसी देखाएर फर्सी भिडाउन खाेज्याे’ : चित्रबहादुर केसी

 माघ २६, २०७८ बुधबार १८:२३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोजेको आरोप लगाउनुभएको छ । आज बुधवार माइतीघर मण्डलामा राष्ट्रिय जनमोर्चा, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायतका आठ राजनीतिक सङ्गठनले आयोजना गरेको अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्धको संयुक्त प्रदर्शनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

अध्यक्ष केसीले अमेरिकाले दिने पैसा नेपालमा आएर विकास हुने भए नेपाली जनताहरू एमसीसीको विपक्षमा नआउने बताउँदै अमेरिकाले आफ्नो स्वार्थपूर्तिका लागि एमसीसी परियोजना नेपाललाई भिडाइरहेको बताउनुभयो । उहाँले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यकालमा भित्रभित्रै एमसीसी पास गराउन खोजेको आरोप पनि लगाउनुभयो । अध्यक्ष केसीले विदेशी शक्तिहरूले पार्टीका प्रमुख व्यक्तिहरूलाई आफ्नो स्वार्थसिद्धिका लागि किन्ने गरेको बताउनुभयो । 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन एमसीसी पारित गर्न, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको बिक्री गर्न र सत्तामा रजाइँ गर्न नबनेको बताउनुभयाे । उहाँले गठबन्धन नेपाली कांग्रेस बाहेकका अन्य पार्टीले संशोधन गरी पास गर्नुपर्छ भने पनि राष्ट्रिय जनमोर्चा एमसीसी नेपालमा ल्याउनु नहुने पक्षमा रहेको स्पष्ट पार्नुभयो ।

अध्यक्ष केसीले भन्नुभयो, ‘गठबन्धन एमसीसी पारित गर्न, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको बिक्री गर्न अनि सत्तामा रजाइँ गर्न भ्रष्टाचारीहरूसँग मित लगाएको होइन । यो प्रतिगमनलाई पराजित गर्नको लागि मात्रै हो । अहिले धेरैले मलाई सोध्ने प्रश्न के हो भने, एमसीसीका कारण गठबन्धन जान्छ कि के हो ? गठबन्धन ढल्छ कि के हो ? पिरलो त गठबन्धनको पो छ त ल, गठबन्धनमा त्यहाँ भएका कतिपयले त नेपाली कांग्रेस बाहेक अरूले कम्तीमा संशोधन हुनुपर्छ, एमसीसी जस्ताको त्यस्तै स्वीकार हुँदैन भनेका छन्, त्यो पनि एउटा राम्रै पक्ष हो । राष्ट्रिय जनमोर्चा त्यो पार्टी हो, जसले कुनै पनि हालतमा एमसीसी पास गर्नुहुँदैन भनेको छ । यो खारेज हुनुपर्छ, यो स्वीकार्य छैन भनेको छ । यही दक्षिण एसियाको देश श्रीलङ्काले किन क्यान्सिल गरेको ? त्यहाँ चाहिएको थिएन अमेरिकाको डलर ? एमसीसीकाे पैसा आएर यहाँ विकास हुने भए, विद्युतको विकास हुने भए, बाटोको विकास हुने भए नेपाली जनताले यस्तो जुलुस गर्नुपर्थ्याे । होइन नि, देखाउने खसी खुवाउने फर्सी हो अमेरिकाको ।’

अध्यक्ष केसीले दुई वर्षयता मधेसमा सरकारले महँगो रकम हालेर ल्याएको रेल सञ्चालन नगरेर नेपाली जनताको बेइज्जत गरेको बताउनुभयो । उहाँले सरकारको यस्तो कामले नेपाली जनताको अपमान भएको समेत बताउनुभयो । उहाँले नेपाल अहिले विदेशीहरूको लुटको अखडा भएको आरोपसमेत लगाउनुभयो ।

अध्यक्ष केसीले नेपालमा राजनीति देश लुट्नका लागि गरेको आरोपसमेत लगाउनुभयो । उहाँले नेपाल जस्तो कृषिप्रधान देशमा अहिले वार्षिक ५० अर्ब रुपैयाँभन्दा बढी खाद्यान्न आयात भइरहेको तर निर्यातका नाममा भने मानिसहरू मात्र पलायन भएको बताउनुभयो । उहाँले नेपाली शासकहरूले आफ्नो देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि खतरा छ कि छैन भनेर एमसीसीलाई सोध्नु लज्जास्पद भएको समेत बताउनुभयो ।

अध्यक्ष केसीले अहिले सरकारमा भागबन्डाकाे काम मात्रै भइरहेको बताउँदै देशक र जनताको रक्षा गर्ने जिम्मेवारी माफिया र तस्कहरूको हातमा सुम्पिएको बताउनुभयो । उहाँले नेपालमा चुनाव माफिया र दलालीहरूको मात्रै भएको आरोपसमेत लगाउनुभयो । अमेरिकाले सहयोग गर्ने बहानामा नेपाली जनताबाट पैसा लुट्ने षड्यन्त्र बनाएको भन्दै अध्यक्ष केसीले भन्नुभयो, ‘कस्ता–कस्ता मान्छे सरकारमा सामेल छन् हेर्नु त प्रदेशतिर । सात मन्त्रालयको ठाउँमा १२ भएको छ । मन्त्री मण्डलमा चोर होस् कि, डाँका होस् कि, मूर्ति चोर होस् कि, अपराधी होस् कि, केही फरक परेन । चुनाव त तस्करहरूको हो । ’

अध्यक्ष केसीले देश अहिले गम्भीर सङ्कटतिर गइरहेको भन्दै त्यसलाई जनताले सडकमा आएर जोगाउनुपर्ने बताउनुभयो । उहाँले नेपाल पनि अहिले अफगानिस्तान र पाकिस्तानको स्तरमा गइसकेको बताउनुभयो । उहाँले संसदमा रहेका सांसदहरूलाई एमसीसी अस्वीकार गरेर देशको राष्ट्रियता, अखण्डता र सार्वभौमिकतालाई जोगाउनुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।

अध्यक्ष कसीले अमेरिकी साम्राज्यवादले जबरजस्ती एमसीसी बोकाएर नेपालमा आफ्नो रोटी सेक्ने षड्यन्त्र गरिरहेको आरोपसमेत लगाउनुभयो । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया