आज विश्व रेडियो दिवस : परिवर्तन र रुपान्तरणमा रेडियोको भूमिका महत्त्वपूर्ण

 फागुन १, २०७८ आइतबार ८:६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै - आज विश्व रेडियो दिवस, रेडियो पत्रकारितामा भरोसा भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो ।

स्पेनको प्रस्तावमा युनेस्कोको ३६औँ सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । समाज विकास, परिवर्तन र रुपान्तरणमा रेडियोको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको पाइन्छ । विशेषगरी विपद्का बेलामा रेडियोको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ ।

समूहमा बसेर रेडियो सुन्ने प्रचलन २०६२/६३ सालको जनआन्दोलनसम्म कायम नै थियो । त्यसपछि समूहमा बसेर रेडियो सुन्ने घटे पनि २०७२ साल वैशाखमा भूकम्प गएका बेला रेडियो सूचनाका लागि सशक्त माध्यम बनेको थियो । धेरैले सूचना तथा जानकारी रेडियोबाट मात्रै पाउने गरेका थिए ।

रेडियोलाई सबैभन्दा प्रभावकारी सञ्चारमाध्यमका रुपमा लिइन्छ । तर, सजिलो र कम खर्चिलो सञ्चारमाध्यम भए पनि प्रविधिको विकासका कारण पछिल्लो समयमा सहरी क्षेत्रमा  रेडियोको व्यापकता खुम्चिँदै गएको छ । तर, गाउँघर र दूरदराजमा अहिले पनि रेडियो निर्विकल्प सञ्चारको माध्यम हो ।

नेपालमा २००३ सालमा काठमाण्डौमा रेडियोको प्रसारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो । नेपालमा २०५२ सालदेखि एफएम प्रसारण सुरु भएको थियो ।

२०५४ सालदेखि निजी क्षेत्रले समेत एफएम रेडियो सञ्चालन गर्न पाउने कानुन बनेपछि २०५४ साल जेठ ९ गते दक्षिण एसियामै पहिलो निजी क्षेत्रको स्वतन्त्र रेडियोका रुपमा रेडियो सगरमाथाले प्रसारण सुरु भयो । त्यसपछि अहिले देशका विभिन्न ठाउँमा रेडियो खुलेका छन् ।

खोलिएका रेडियोको सङ्ख्या हजारौँ पुगिसकेको छ । इटलीका वैज्ञानिक जिमार्कोनीले रेडियोका आविष्कार गर्नुभएको हो । उहाँले सन् १८९५ मा रेडियो तरङ्ग पत्ता लगाउनु भएको थियो ।  त्यसको २४ वर्षपछि मात्रै रेडियोको व्यावहारिक रुपमा प्रसारण सुरु गरिएको थियो ।

सन् १९१९ को अक्टोबरमा अमेरिकामा पहिलो पटक रेडियो खुले पनि विश्वमा औपचारिक रुपमा रेडियो प्रसारण अमेरिकाको पेन्सिलभेनिया सहरबाट सन् १९२० मा भएको मानिन्छ।

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया