बर्दिया निकुञ्ज क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि कार र्‍याली सुरु, लुम्बिनीका ८ जिल्ला पुग्ने

 फागुन ८, २०७८ आइतबार २०:१०:५८ | भावुक योगी
unn.prixa.net

बर्दिया – 'बाघ हेर्न बर्दिया जाउँ, पर्यटन प्रवर्द्धनमा सघाउँ' भन्ने नाराका साथ बर्दिया राष्ट्रिय निकुञ्ज आसपास क्षेत्रका पर्यटन व्यवसायी, संरक्षणकर्मी, जनप्रतिनिधि, कर्मचारी र पत्रकार पर्यटन प्रवर्द्धनका लागि आज आइतवार बर्दियाबाट कार र्‍यालीमा निस्केका छन् ।

पर्या–पर्यटन विकास मञ्च ठाकुरद्वाराको आयोजना तथा ठाकुरबाबा नगरपालिकाको आर्थिक सहयोग र बर्दिया निकुञ्जको सहकार्यमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार र्‍यालीमा निस्किएका मञ्चका अध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

आज बिहान बर्दिया निकुञ्जको कार्यलयबाट निस्किएको कार र्‍यालीले लुम्बिनी प्रदेशका आठ जिल्लामा पुगेर बर्दियाको पर्यटन प्रवर्द्धनका विषयमा जिल्लाका संरक्षणकर्मी र स्थानीय तहका प्रतिनिधिसँग अन्तक्रिया गर्ने कार्यक्रम रहेको पर्या–पर्यटन विकास मञ्चका अध्यक्ष कृष्णप्रसाद भट्टराईले बताउनुभयो ।

बर्दियाको समग्र पर्यटन विकासमा टेवा पुर्‍याउने लक्ष्यका साथ टाेली चार दिनकाे कार र्‍यालीमा निस्किएका हुन् । र्‍यालीमा पर्यटन व्यवसायी, संरक्षणकर्मी र पत्रकार गरी ३० जना सहभागी छन् ।

बर्दिया निकुञ्जलाई नेपालमा मात्र नभएर विश्वभर चिनाउन संरक्षणमा आबद्ध भएका संरक्षणकर्मीहरूले महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका लुम्बिनी प्रदेशका सांसद कुलप्रसाद पोखरेलले बताउनुभयो । 

बर्दियामा अहिले धेरै व्यक्ति संरक्षण र पर्यटन व्यवसायमा आबद्ध भएका छन् । पर्यटन प्रवर्द्धनका विषयमा सबैलाई सचेत गराउन सकेमा आर्थिक रूपमा समेत सहयोग पुग्ने बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो ।

बर्दिया निकुञ्ज जिल्लाकै मुख्य पर्यटकीय गन्तव्य हो । निकुञ्ज भ्रमण गर्दा जङ्गल, पैदल यात्रा, जीप सफारी, हात्ती सफारी, क्याम्पिङ, फिसिङ, थारु सांस्कृतिक नाच, थारु समुदायका मौलिक परिकार, भेसभुसा आदिको अवलोकन गर्न सकिने ठाकुरबाबा नगरपालिकाका मेयर घननारायण श्रेष्ठले बताउनुभयो ।

बर्दियामा बाघको सङ्ख्या बढेसँगै बाघ हेर्न आउने पर्यटकको सङ्ख्यासमेत बढ्दै गएको छ । ६० प्रतिशत पर्यटकहरू प्रकृतिका आधारमा घुम्ने भएकाले विभिन्न ठाउँमा गएर पर्यटन प्रवर्द्धन बढाउनुपर्नेमा जोड दिइएको छ । कारकाे र्‍याली पहिलो दिन अर्घाखाँची पुगेर भोलिपल्ट गुल्मी, पाल्पा हुँदै रुपन्देही पुगेर ११ गते बर्दिया फर्किने जनाइएको छ । 

यसअघि २०७६ साल जेठमा पनि 'बाघ हेर्न बर्दिया जाउँ' भन्ने नारासहित भ्रमण वर्ष सफल पार्न कार र्‍याली निस्किएको थियो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया