शिवरात्रिका लागि पशुपति मन्दिर झकिझकाउ, दर्शनार्थीका लागि मास्क र स्यानिटाइजर अनिवार्य

 फागुन १६, २०७८ सोमबार ७:३२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - भोलिको शिवरात्रिका लागि पशुपतिनाथ मन्दिरलाई सजाएर झकिझकाउ बनाइएको छ । शिवरात्रिको पूर्वसन्ध्यमा पशुपति झकिझकाउ पारिएको हो ।

यसपालि पशुपति मन्दिर पुग्ने दर्शनार्थी र भक्तजनका लागि मास्क र स्यानिटाइजर अनिवार्य गरिएको छ । शिवरात्रिमा पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने गर्छ ।

भीडका कारण कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्ने भएकाले मास्क र स्यानिटाइजरलाई अनिवार्य गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका कोषाध्यक्ष तथा शिवरात्रिको प्रचारप्रसार व्यवस्था उपसमितिका संयोजक नारायणप्रसाद सुवेदीका अनुसार भक्तजनका लागि विशेष सुरक्षा योजना बनाइएको छ ।

भोलि पशुपति क्षेत्रमा नेपाल प्रहरीको अगुवाइमा सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागको जनशक्ति खटिने छन्  । यस्तै, मेला क्षेत्र र दर्शन मार्गमा सीसीटीभी क्यामरा जडान गरिने छ भने ठाउँ ठाउँमा स्वास्थ्य शिविर राखिने छ । यस्तै, झण्डै ५ हजारको सङ्ख्यामा स्वयम्सेवक परिचालन गर्ने तयारी छ । मन्दिर दर्शनका लागि तीन वटा दर्शन मार्ग व्यवस्था गरिने छ।

गुह्येश्वरी–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्र गाडेश्वर छेउको उत्तरतिरको ढोकाबाट एउटा लाइन हुनेछ । यस्तै, मित्रपार्क जयबागेश्वरी, इँटापाखा भएर भुवनेश्वरमा रहेको फलामको ढोका हुँदै पश्चिम ढोकातर्फ तथा बत्तीसपुलती, गौशाला, एयरपोर्ट, तिलगङ्गा  चार शिवालय हुँदै अर्को लाइनको व्यवस्था गरिएको छ ।

यसैगरी आवश्यता परे तिलगङ्गा राममन्दिरतर्फबाट समेत लाइनको व्यवस्था मिलाउने पशुपति क्षेत्र विकास कोषको तयारी छ । यस्तै, गाडीको व्यवस्थापनका लागि ५ ठाउँ कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त गौशाला, सिफलको चौर र गुह्येश्वरी क्षेत्रमा पार्किङको व्यवस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

हरेक वर्षको फागुनकृष्ण चतुर्दशीका दिन मनाइने शिवरात्रिलाई भगवान शिवजीको जन्मदिनका रूपमा लिइन्छ । सनातन हिन्दु धर्मावलम्बीहरूले भोलि बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्ने गर्छन् । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया