संवैधानिक इजलास आजदेखि

 फागुन २०, २०७८ शुक्रबार १०:४५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएकाे पाँच महिनादेखि बस्न नसकेको संवैधानिक इजलास आज शुक्रवारदेखि बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा संवैधानिक इजलास बस्नेछ । 

आजका लागि न्याय परिषद्को सिफारिसमा परेका न्यायाधीशमध्येबाट कार्कीले इजलास गठन गर्नुहुनेछ । यो इजलासमा सामान्यतया वरिष्ठताका आधारमा न्यायाधीशको चयन हुँदै आएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश र न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले तोकेका अरू चार जना न्यायाधीश रहने व्यवस्था संविधानमा छ । अहिलेका सर्वोच्चका न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको नाम न्याय परिषद्ले संवैधानिक इजलासका लागि सिफारिस गरेको छ । 

संविधानले सङ्घीय इकाइहरूबीचको विवाद, प्रदेश सभा र सङ्घीय संसद्का सांसद्हरूको अयोग्यतासम्बन्धी र चुनावसम्बन्धी विवाद तथा तीनै तहका व्यवस्थापिकाले बनाएका कानुन संविधानसँग बाझिएका विवाद हेर्ने अधिकार यो इजलासलाई छ । यो इजलास बस्न नसक्दा धेरै मुद्दा सुनुवाइ हुन सकेका छैनन् । 

अहिले सर्वोच्चको संवैधानिक इजलासमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको नियुक्ति बदर गर्न माग गरिएका मुद्दा, मधेस प्रदेशले सङ्घीय सरकारविरुद्ध दायर गरेका प्रादेशिक अधिकारसम्बन्धी मुद्दा, वामदेव गौतमको राष्ट्रिय सभामा गरिएको मनोनयनविरुद्धको मुद्दा, प्रतिनिधि सभा चुनावसम्बन्धी विवादलगायतका मुुद्दा छन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया