रुस–युक्रेन युद्ध : शान्तिवार्ता गर्न चिनियाँ राष्ट्रपतिकाे आह्वान, कच्चा तेलको मूल्य प्रतिब्यारेल ३ सय डलर पुग्ने चेतावनी

 फागुन २४, २०७८ मंगलबार २०:१८:३८ | एजेन्सी
unn.prixa.net

चीनका राष्ट्रपति सी जिनपिङले युक्रेनको अवस्था चिन्ताजनक भएको भन्दै शान्तिवार्ता गर्न आह्वान गर्नुभएको छ । फ्रान्सका राष्ट्रपति र जर्मन चान्सलरसँग गरेको एउटा भर्चुअल बैठकमा उहाँले दुई देशबीच चाँडो शान्तिवार्ता हुनुपर्ने बताउनुभएको चीनको सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ । 

युक्रेनको परिस्थिति नियन्त्रणबाहिर जान नदिन प्राथमिकता दिनुपर्ने चिनियाँ राष्ट्रपति सीकाे भनाइ छ । युक्रेनमा रुसले गरेको आक्रमणको चीनले समर्थन र विरोध केही गरेको छैन । रुसी अतिक्रमणको निन्दा गर्न संयुक्त राष्ट्र सङ्घमा आयोजित मतदानमा भने चीन अनुपस्थित रहेको थियो । 

यसैबीच रुसले कच्चा पेट्रोलियम पदार्थको मूल्य प्रतिब्यारेल तीन सय अमेरिकी डलरसम्म पुग्ने चेतावनी दिएको छ । रुस र युक्रेनबीचको युद्धले विश्व बजारमा अमेरिकी डलर, सुन र पेट्रोलको भाउ बढिरहेको छ । रुसमाथि पश्चिमा देशहरूले विभिन्न प्रतिबन्ध लगाएका छन् । रुसले पश्चिमाहरूले थप प्रतिबन्ध लगाए कडा कदम चाल्ने भन्दै कच्चा तेलको मूल्य प्रतिब्यारेल तीन सय डलर पुग्ने चेतावनी दिएको बीबीसीले जनाएको छ । अहिले कच्चा तेलको मूल्य प्रतिब्यारेल एक सय ३९ अमेरिकी डलर पुगेको थियो । 

यसैबीच युद्ध सुरु भएपछि युक्रेनबाट भागेका शरणार्थीको सङ्ख्या २० लाख नाघेको संयुक्त राष्ट्र सङ्घलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । याे सङ्ख्यामध्ये पोल्यान्डमा मात्रै १२ लाख शरणार्थी पुगेका छन् । रुसले आक्रमण गरिरहेको क्षेत्रमा निश्चित समय युद्धविराम गरेर सर्वसाधारणलाई बाहिर जान सुरक्षित मार्ग दिन थालेको बीबीसीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया