एमसीसीकाे टेन्डरमा नेपालका निर्माण व्यवसायीले पनि प्रतिस्पर्धा गर्नुस् : प्रधानमन्त्री देउवा

 फागुन २७, २०७८ शुक्रबार १४:२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता एमसीसीको टेन्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ । 

आज शुक्रवार काठमाण्डाैमा आयोजित नेपाल निर्माण व्यवसायी महासङ्घको २३ औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी परियोजनाको अन्तर्राष्ट्रियस्तरमा टेन्डर हुने भएकाले नेपालले पनि भाग लिनसक्ने बताउनुभयो । उहाँले नेपालका निर्माण व्यवसायीलाई एमसीसीको अन्तर्राष्ट्रिय टेन्डरमा भाग लिन हिम्मत गर्न आग्रह गर्नुभयो ।

अमेरिकी कानुनले एमसीसीलाई अन्तर्राष्ट्रियस्तरमा टेन्डर गर्नुपर्ने अवस्था रहेकाले यसमा जुनसुकै देशले प्रतिस्पर्धा गर्न सक्ने बताउनुभयो । नेपाल प्रतिस्पर्धामा भाग लिएर सफल भए नेपालीहरू खुसी हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, ग्लोबल टेन्डर हुन्छ । नेपालकाले पनि हिम्मत गरे हुन्छ । यो एमसीसीको बिडिङमा सफल हुनुस् । सबैभन्दा पहिले हामी खुसी हुनेछौँ । अन्तर्राष्ट्रिय बिडिङमा जुनसुकै देशका पनि यसमा आउन सक्छन् । चीनका होस् । भारतको होउन् । नेपालकै हुन सक्छन् ।’

प्रधानमन्त्री देउवाले नेपालको निर्माण उद्योगलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने बताउनुभयो । निर्माण व्यवसायको व्यवस्थित विकासका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले यस क्षेत्रमा देखिएका समस्याको नीतिगत, कानुनी र प्रक्रियागत रूपमा सहजीकरण गर्न सरकार सकारात्मक रहेको बताउनुभयो । 

निर्माण व्यवसायलाई अझै व्यावसायिक र प्रतिस्पर्धी बनाउनु आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले निर्माण क्षेत्रमा गरिने खर्चलाई समय सापेक्ष वृद्धि गर्दै लानुपर्ने आवश्यकता रहेको बताउनुभयो । 

प्रधानमन्त्री देउवाले निर्माण व्यवसायीहरूको क्षमता अभिवृद्धि तथा निर्माण सामग्रीको आधुनिकीकरण र यान्त्रिकीकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले निर्माण व्यवसायलाई सहज बनाउनका लागि खरिद नियमावलीको ११ औँ संशोधन गरिएको स्पष्ट पार्नुभयो । विकास निर्माणको काम समयमा सम्पन्न नहुँदा निर्माण व्यवसायी माथि प्रश्न उठ्ने गरेको भन्दै उहाँले काम ढिलो हुनाका कारण र समस्या समाधानका उपायको सम्बन्धमा सरकार व्यवसायीहरूसँग छलफल गर्न तयार रहेको पनि बताउनुभयो । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया