साफ यु–१८ महिला च्याम्पियनशिप : उपाधि लिएर आउँछाैँ– कप्तान राई

 फागुन २७, २०७८ शुक्रबार २०:२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतमा आयोजना हुन लागेको साफ यु–१८ महिला च्याम्पियनशिपमा सहभागी हुने नेपाद्य महिला टोलीलाई आज शुक्रवार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिदाइ गरेको छ । 

एन्फा मुख्यालयमा एक कार्यक्रमको आयोजना गरेर महिला टोलीलाई बिदाइ गरिएको हो । बिदाइका क्रममा बोल्दै नेपाली टोलीकी कप्तान प्रीति राईले तीन टोली सम्मिलित प्रतियोगितामा आफ्नो लक्ष्य उपाधि उचाल्ने रहेको बताएकी छिन् । नजिकिँदै गरेको महिला लिगका लागि खेलाडीले तयारी गरिहेकाले खेलाडीको फिटनेस राम्रो भएको र बलिया टोली भए पनि राम्रो खेलेर उपाधि लिएर आउने कप्तान राईले बताइन् ।

लगातार दुई संस्करणको उपाधि विजेता बङ्गलादेश र पछिल्लो संस्करणको उपविजेता आयोजक भारतसँग खेल्ने नेपाली टोलीले झन्डै एक महिनाको प्रशिक्षण अनुभव लिएर प्रतियोगितामा सहभागिता जनाउँदै छ । 

महिला टोलीलाई अनुभव दिलाउने लक्ष्यसहित प्रतियोगितामा सहभागिता जनाउन लागेको भन्दै महिला विभाग प्रमुख हरि खड्काले बलिया टोलीसँग राम्रो फुटबल खेलेर स्वदेश फर्किने बताए ।

सन् २०१८ मा भुटानमा भएको पहिलो प्रतियोगिताको सेमिफाइनलमा भारतलाई हराएको नेपाली टाेली बङ्गलादेशसँग पराजित भएपछि उपाधि जित्न सकेकाे थिएन । तेस्रो संस्करणको प्रतियोगिताका लागि आयोजक भारतसहित नेपाल र बङ्गलादेशले भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म प्रतिस्पर्धा गर्दैछन् । 

च्याम्पियनशिपका लागि नेपाली टोली भाेलि शनिवार भारत प्रस्थान गर्नेछ । डबल राउन्ड रोबिन आधारमा हुने च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले आयोजक भारतसँग खेल्नेछ । नेपाल र भारतबीचको खेल मार्च १५ मा हुनेछ भने दोस्रो खेलमा नेपालले मार्च १७ मा बङ्गलादेशको सामना गर्नेछ । यस्तै मार्च २१ मा फेरि भारतसँग र मार्च २३ मा बङ्गलादेशसँग खेल्ने तालिका रहेको छ । 

शीर्ष टोलीले उपाधि जित्नेछ । यही प्रतियोगिताका लागि मुख्य प्रशिक्षक दर्शन भक्तराज लावतले बिहीवार २३ सदस्यीय खेलाडीको नाम सार्वजनिक गरेका थिए । टोलीलाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, एन्फा पदाधिकारी र राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालालगायतले बिदाइ गरेका थिए । 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया