घाम पार्टीकै अघिल्तिर कहिले जाला घाम, कामभन्दा धेरै हाम !

 भदौ ३०, २०७५ शनिबार ९:४१:५८ | मिलन तिमिल्सिना
unn.prixa.net

यसपटक सरकारले पुरस्कार दिने गतिलो कर्मचारी भेटेन । कुरा बुझ्दै जाँदा थाहा भयो, घाम पार्टीकै सरकार भएको बेलामा पनि सरकारी अड्डामा उस्तै काम – सरकारी काम कहिले जाला घाम ? भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती सुन्नै चाहन्न भन्ने प्रधानमन्त्रीकै अघिल्तिर उस्तै छलछाम । 

बिहान १० बजे नै कामको लागि कार्यालय पुग्यो । हामी काम लिनेलाई पो हतार । काम दिनेलाई के को हतार ? लिने जस्तो हो र दिने मान्छे ? दिने मान्छे त ठूलो मान्छे । ठूलो मान्छेका ठूलै कुरा । ठूलै समय । ठूलै सोच ।

ठूलो मान्छे बस्ने सरकारी कार्यालयको ढोका साना मान्छेको घर जस्तो भालेको डाकमा खोल्न मिलेन । ठूला मान्छेको घडीमा १० पनि अरु घडीकै समयमा बज्दैन । ठूला मान्छेको घडी ठूलै आरामले चल्छ । सुुई आरामले घुम्छ र मन लागेको बेला १० बज्छ । हाकिम साहेबको मन अनुसार, चाहना र कामना अनुसार १० बज्छ ।

तपाईंको र मेरो घडीमा मात्र १० बजेर कहाँ हुन्छ ? ठूला मान्छेले काम गर्ने ठूला कार्यालयमा १० आफ्नै सुरले बज्छ । तर कार्यालय खोल्न बज्ने १० मात्र ढिलो हो । कार्यालयबाट निस्कने ट्याम देखाउन त्यही घडी निकै छिटो चल्छ । हाकिमसाब कार्यालय पुगेपछि कुर्सीमा आराम गर्नुहुन्छ । 

हाकिमसाबको सुुस्तीलाई उहाँका हातको घडीले, टेवलको घडीले र भित्ताका घडीले एकसाथ चुनौती दिन्छन् र ती हतार हतार दौडिन थाल्छन् । अनि एकछिन सुस्ताएका हाकिमसाबलाई घडीको ताल पछ्याउन हतार हुन्छ । आरामले अफिस गए पनि निस्कन अलि हतारै गर्नुपर्छ । नत्र घडीले साथ दिंदैन ।  

वीरगंज, विराटनगर, भैरहवा, एयरपोर्ट चाहिँ अझै मलिलो जग्गा रे कर्मचारीका लागि । त्यसैले मलिलोमा भैरहेकालाई अन्त जान मन नलाग्ने ।

तपाईं मालपोत तिर्न, नागरिकता बनाउन, मोटर वा मोटरसाइकल पास गर्न, बिजुलीको बिल तिर्न या अरु नै कामको लागि सरकारी अड्डा पुग्नुहोस् । पहिलो कुरा त तपाईंलाई कहाँको कुन कोठामा काम लिने हो नै पत्तो हुँदैन । बल्लतल्ल पत्ता लगाएर त्यहाँ पुग्यो, लामो लाइन हुन्छ । अनि लाइनमा गएर उभियो । मरिगए लाइन सर्दैन । किन लाईन सरेन भनेर खोज्दा थाहा हुन्छ भित्र काम गर्ने मान्छे छैन । भित्र काम गर्ने मान्छे भए पो लाइन सर्छ त ।

लाइन बढेर पल्लो कुना पुग्नै लाग्दा बल्लतल्ल मान्छे आइपुग्यो । ल अब त लाइन सर्छ भनेर आशा गरेर बस्यो । लाइन आफ्नै पारामा सर्दै जान्छ । पिसाबले च्याप्दा समेत थामेर बसेपछि बल्लतल्ल पालो आउँछ । अनि हाकिम साहेबले चस्मा मुनीबाट यसो हेर्छन् । ‘तपाईंको के ?’ भन्दै हप्काउँछन् ।

‘मेरो नाम यो, फलानो ठाउँबाट, यसो गर्नुथियो, मेरा कागजपत्र यी यी हुन्’ भनेर चाहिने जति विवरण र कागजात सबै अघिल्तिर राखिदियो । हाकिमसाबले सबै सर्सती हेर्छन् । यता पल्टाउँछन्, उता पल्टाउँछन् । घरि मलाई हेर्छन्, घरि कागजमा हेर्छन् । कागज अपुग छैन । सब ठीकठाक छ । तर हाकिम साहेबलाई चाहिने कुरा चाहिँ पुुगेको छैन भन्ने कुरा उहाँको अनुहारबाट थाहा पाई हालिन्छ । त्यसपछि हाकिमसाबले भन्छन्, ‘यो तपाईंको होइन ?’

‘मेरै हो’ भनेपछि फेरि हाकिम साहेब निहुँ खोज्छन्, ‘खै के प्रमाण छ तपाईंको हो भनेर ।’ 

‘म मै हुँ । सास मैले फेरेको हो । यो भन्दा ठूलो प्रमाण अरु के चाहियो त ?’ भन्यो, हाकिम साहेब मान्दै मान्दैनन् ।

उल्टै प्रश्न गर्छन् ‘ठूला कुरा नगर्नोस्, तपाई तपाई नै हो भन्ने, तपाईको सास तपाई आफैले फेरेको हो भन्ने प्रमाण के छ ?’ अनि आफ्नो प्रश्नले पुलकित भएर दंग परेर हेदै मलाई भन्छन ‘ल यो मिलेन ? सही यहाँ गर्नुपर्ने, अन्तै भयो ।’ फेरि हाकिमसाबले अर्को निउँ खोज्छन् । उनलाई जसरी पनि मेरो काम नगर्नु छ । उनलाई केही चाहिएको छ, जुन मैले दिएको छैन ।

लुकाएर, घुमाएर किन कुरा गर्नु । उनीहरुले हाकाकाही घुस खाइरहन हुने । हामीले चाहिँ घुस नखाईकन धेरै सरकारी कर्मचारीले काम गर्दैनन् भनेर सिधै भन्न पनि नहुने ? सिधै भन्दा धेरै सरकारी कार्यालयमा घूस नदिइकन काम नै हुँदैन । अख्तियारले सानालाई पो अँचेट्न सकेको छ । ठूलालाई छुन सकेको छैन क्यारे । छुन नसकेका ठूला अझै साँढे भैरहेका छन् । साँढेले हामीजस्ता निम्छरा जनतालाई त्यसै किन छोड्थे ।

सरकारी कर्मचारी पनि कोही धेरै भाग्यमानी हुन्छन्, कोही चाहिँ निकै अभागी । सबैलाई थाहा भएकै कुरा भन्सार, मालपोत, परराष्ट्र, राजश्वका कर्मचारी साह्रै भाग्यमानी । यहाँ त दिन्न र हुन्न भन्ने मान्छे काम लिएर जाँदै जाँदैनन् । जसले पनि केही न केही टक्र्याउँछन् । परराष्ट्रमा भयो भने सधैं विदेश जान पाइने, भन्सार र राजश्वमा भए आँ नगरेरै बस्दा पनि आँ गर्नुस् हजुर भन्ने खालका मान्छे मात्रै पुग्ने । आँ नगरी बस्दा पनि मनले खोजेको कुरा कि मुखमा, कि गोजीमा । यी ठाउँ त कुर्सीमा बसेर जति नाई नाई भन्यो, त्यति नै खल्ती गरम र भारी हुने । 

वीरगंज, विराटनगर, भैरहवा, एयरपोर्ट चाहिँ अझै मलिलो जग्गा रे कर्मचारीका लागि । त्यसैले मलिलोमा भैरहेकालाई अन्त जान मन नलाग्ने । रुखो ठाउँमा बसिरहेका चाहिँ सधैं दिक्क । आफ्नो मान्छे नहुँदासम्म मलिलो ठाउँमा गएर मस्ती गर्न नपाइने ।

सरकारी कर्मचारीलाई गाली मात्र नगरौं । उनीहरुको स्वभाव, प्रवृति र कामलाई चाहिने ठाउँमा सदुपयोग गर्न सके कति मज्जा हुन्थ्यो । तपाईं एकछिन सोच्नुहोस् त, तपाईंलाई छिटो मर्न मन लाग्छ ? पक्कै पनि लाग्दैन । सयौं वर्ष बाँच्न मन लाग्छ । कलपना गर्नुस् त, आयु थपघट गर्ने ठाउँमा सरकारी कर्मचारी भैदिए कस्तो हुन्थ्यो होला ? सरकारी कर्मचारी यसैपनि ढिलो काम गर्ने । 

कसैको आयु सकिन लाग्यो र छिटो उसलाई माथि पुर्याउन पर्ने ठाउँमा सरकारी कर्मचारी भयो भने के होला ? पक्कै पनि उसले छिटो गर्दैन । लौ भयो आज होइन यसलाई माथि पुर्याउने काम भोलि गरौंला भनेर सार्छ । भोलि पनि गर्दैन, भोलिको भोलिलाई सार्छ । यो त मजै हुने भो । किनभने मर्न खोज्दा पनि बाँचिरहन पाइने ।

अब यस्को उल्टो कल्पना गर्नुस् त । मर्नुको उल्टो हो जन्मनु । यदि मान्छे जन्माउनको लागि पनि सरकारले स्वीकृति दिनुपर्ने नियम भयो भने के होला नि ? यदि यस्तो नियम हुने हो भने त्यो ठाउँमा पनि सरकारी कर्मचारी त हुने नै भयो । सन्तानको जन्मका लागि सबै दम्पत्ति स्वीकृति लिन जान्थे । सबैभन्दा ठूलो र लामो लाईन त्यही कार्यालयमा हुन्थ्यो । आज होइन भोलि भन्दै कर्मचारीले फर्काउँथे । भोलिको भोलि, त्यो भोलिको पनि भोलि हुँदै जाँदा मान्छे त कोही पनि जन्मन नभ्याउने । जनसंख्या कम हुन्थ्यो, फाइदै हुन्थ्यो नि होइन र भन्या !

तपाईंले हाटा भन्ने शब्द त सुन्नुभएकै होला । हाजिर गर्ने र टाप ठोक्ने अथवा छोटकरीमा हाटा । हाजिर गर्यो, टाप ठोक्यो साँसदजस्तै! धेरै सरकारी कर्मचारी र साँसद उस्तै । तर ड्रेसको व्यवस्था भएपछि चाहिँ सरकारी कर्मचारीलाई अप्ठेरो परेको छ । अफिस जाँदा ड्रेस लगाएर जानुपर्यो । निक्लँदा फुकाल्ने कुरा भएन । त्यो ड्रेस लगाएर डान्स रेष्टुरेन्ट, होटल, पार्क, घुसको लेनदेन हुने ठाउँ, सिनेमा हल जाँदा सबैले चिन्छन् । ड्रेस हेरेरै यो त कर्मचारी हो भन्छन् ।

त्यसमाथि छोरोको स्कूल ड्रेस र छोराका बाउको सरकारी ड्रेस उस्तै । कहिलेकाहीँ त छोराको सर्ट र पाइन्ट लगाएर पनि कर्मचारी कार्यालय जाँदा रहेछन् । तर जे भएपनि सरकारी कर्मचारीको शान नै बेग्लै ।

आरामले चल्ने घडी लाएकर कार्यालय पस्दै गर्दा एकजनाले भन्यो, ‘मेरो जेठो छोरो त एकदम काम चोर छ । न बेलामा काम गर्छ, न जाँगर लगाएरै गर्छ ।’

चिया अर्डर गरेर फेसबुकमा आँखा डुलाईरहेको उस्को साथीले भन्यो, ‘कामचोर छ भने त छोरो पक्कै उत्कृष्ट कर्मचारी हुुन्छ । उ जस्तो योग्य मानिस नभएर यो पालि कसैले पुरस्कार पाएन । तर उस्ले चाहिँ धनसम्पत्ति पनि अपार कमाउँछ र अर्को वर्ष खप्टिएर यो वर्षको पुरस्कार समेत पाउँछ ।’ 

अन्तिम अपडेट: माघ १, २०७५

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया