मतपत्र हरियाे छाप्ने र उम्मेदवार मनाेनयनमा २ दिन समय दिने निर्णय सच्याउन एमालेकाे माग

 चैत १३, २०७८ आइतबार १९:३१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तह चुनावकाे मतपत्रको रङ परिवर्तन गर्ने र उम्मेदवार मनोनयनका लागि दुई दिनको समय दिने निर्णयप्रति आपत्ति जनाउँदै तत्काल सच्याउन निर्वाचन आयोगसँग माग गरेको छ ।

नेकपा एमालेको आज आइतवार बसेको पार्टी स्थायी कमिटी बैठकले सत्तारुढ दल विशेषलाई अनुकूल हुने गरी त्याे निर्णय गरेको निष्कर्ष निकाल्दै तत्काल सच्याउन निर्वाचन आयोगसँग माग गरेको हो । आयाेगले प्राविधिक कारणले स्थानीय तह चुनावमा प्रयोग हुने मतपत्र हरियाे रङकाे छाप्ने निर्णय गरेकाे छ । 

त्यसैगरी बैठकले मतदातालाई प्रभावित गर्ने गरी कर्मचारी सरुवा, बढुवालगायतका काम सरकारले गरिरहेकोमा पनि बैठकले आपत्ति जनाएको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । एमालेले महाकाली नदीको धार नै परिवर्तन गर्ने गरी भारतीय पक्षले संरचना निर्माणको काम अघि बढाउँदा पनि सरकार मौन रहेको भन्दै तत्काल भारतसँग वार्ता गरी त्याे संरचना निर्माणकाे काम रोक्न लगाइ आफ्नो भूमि र सीमाको सुरक्षा गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । 

यस्तै उपभोक्ताको ढाड सेक्ने गरी मूल्य वृद्धि हुँदा पनि त्यसलाई नियन्त्रण गर्न सरकार पूर्णतः असफल भएको आरोप एमालेले लगाएको छ । 

प्रचार तथा प्रकाशन विभाग प्रमुख सुब्बाले बैठकले पार्टीको स्थानीय तह चुनावकाे घोषणा पत्र र प्रतिबद्धता पत्र निर्माणका लागि आवश्यक सुझाव दिन पनि सार्वजनिक अपिल गर्ने निर्णय गरेको बताउनुभयो । 

एमालेले आउँदाे वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर स्थानीय तहकाे चुनावका लागि चुनावी घोषणा पत्र र प्रतिबद्धता पत्र एकसाथ सार्वजनिक गर्ने निर्णय गरिसकेको छ । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया