स्थानीय तह संविधानका अधिकारलाई जनताको घरदैलोमा पुर्‍याउँदै छन् : मन्त्री भुसाल

 चैत १४, २०७८ सोमबार १९:४२:४१ | रासस
unn.prixa.net

ललितपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधानमा उल्लेख भएका अधिकारलाई स्थानीय तहले जनताको घरदैलोमा पुर्‍याएर सेवा गर्दै आएको बताउनुभएको छ । ललितपुर महानगरपालिका २८ को वडा कार्यालय भवनको आज सोमवार उद्घाटन गर्दै उहाँले पहिलो पटक अधिकार सम्पन्न भएको जनताको नजिकको वडाले नयाँ अनुभव हासिल गर्दै जनसेवा गरेको आफूले अनुभूति गरेको बताउनुभयो ।

वडाध्यक्षले अहोरात्र खटेर वडामा बाटो विस्तार गर्नुका साथै अन्य भौतिक पूर्वाधारको विकास गरेको उल्लेख गर्दै मन्त्री भुसालले अन्य सहजीकरणका काममा पनि वडाले विशेष ध्यान दिएर सम्पन्न गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कुनै पनि मतभेद नभइकन एकै मनोविज्ञानले वडामा विकासका काम भएका छन्, महिलाका निम्ति सीप, ज्येष्ठ नागरिकका लागि राहत वडाले उपलब्ध गराएको छ ।’ कोभिडको महासङ्कटमा आफ्नो ठाउँमा आइसोलेशन सेन्टर स्थापना गरेर जनतालाई सङ्क्रमणबाट जोगाउन वडा सफल भएको जनाउँदै उहाँले युवाका लागि खेलकुद तथा किसानका लागि राहत र रोजगारी सिर्जना गरेको स्मरण गर्नुभयो ।

हरिसिद्धिको कनिखेलमा रहेको वडा भवन नै यहाँका वडावासीका लागि सिंहदरबार भएको उल्लेख गर्दै मन्त्री भुसालले संविधानमा उल्लेख भएका अधिकार कार्यान्वयन गर्न वडा सक्रिय भएर लाग्ने विश्वास व्यक्त गर्नुभयो । आउँदा दिनमा वडाको आर्थिक तथा सामाजिक विकास गर्नु नै वडाको महत्त्वपूर्ण काम हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य राजकाजी महर्जन र वडाध्यक्ष राजेश महर्जनले आउँदा दिनमा जनताको निरन्तर सेवामा लाग्ने वाचा गर्दै आफूहरूले वडाको विकासका लागि निर्वाह गरेको भूमिकाबारे स्पष्ट पार्नुभयो । त्यस अवसरमा वडा भवन निर्माणमा महतपूर्ण योगदान गर्ने वडावासीलाई सम्मान गरिएको थियो । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया