अध्यक्ष ओलीद्वारा ११ तले टावर उद्घाटन, दूरबिनबाट भारतका सहर पनि देख्न सकिने

 चैत १५, २०७८ मंगलबार १७:२१:३५ | रासस
unn.prixa.net

रुपन्देही – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण गरिएको बहुउद्देश्यीय टावरको आज मङ्गलवार उद्घाटन गर्नुभएकाे छ ।  

तिलोत्तमा नगरपालिका २ काे शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा तिलोत्तमा बहुउद्देश्यीय टावर निर्माण गरिएको हो । तिलोत्तमा नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने लक्ष्यका साथ बहुउद्देश्यीय टावर निर्माण गरेको हो । वनवाटिका लुम्बिनी प्रदेशको एउटा महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो । यहाँ वार्षिक साढे तीन लाख आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । 

त्यस अवसरमा अध्यक्ष ओलीले उपलब्ध स्रोत साधनको अधिकतम उपयोगबाट पर्यटन प्रवर्द्धन गर्न सकिने बताउनुभयो । 

उहाँले लुम्बिनी सबैको आँखामा पर्ने ठाउँ रहेको र त्यसको प्रवर्द्धनका लागि तिलोत्तमाले अघि बढाएका कामहरू प्रशंसनीय रहेको बताउँदै यसले नगरपालिकालाई नियमित आम्दानी दिने उल्लेख गर्नुभयो । 

उहाँले तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेको खुला पोलिथिन निषेध अभियानलाई व्यापक बनाइनुपर्नेमा जोड दिनुभयो । आधुनिक कृषिलाई ध्यान दिए उत्पादन बढ्ने बताउँदै उहाँले भान्सालाई औषधालयको रूपमा विकास गर्न सबैले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । 

नगरपालिकाका मेयर वासुदेव घिमिरेले तिलोत्तमा बहुउद्देश्यीय टावर नगरपालिकाको आम्दानीको स्रोत हुने बताउनुभयो । नगरपालिकाकी उपमेयर जागेश्वरी चौधरीले टावरको निर्माणले समग्र तिलोत्तमाको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो ।

टावरमा होटल, रेस्टुरेन्ट, कफी शप, डिपार्टमेन्टल स्टोर, लाइब्रेरी, अन्य विभिन्न सेवा केन्द्र तथा दुरदृश्यावलोकन सेवा उपलब्ध हुनेछ । एघार तले याे टावर एक सय ३४ फिट अग्लो छ । २०७४ चैत १५ गते नेपाली कांग्रेस लुम्बिनी प्रदेशका तत्कालीन संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले यस टावरको शिलान्यास गर्नुभएको थियो । 

टावरको भुइँ तलाको क्षेत्रफल तीन हजार पाँच सय ९५ वर्ग फिट छ । टावर २५ हजार एक सय २२ वर्ग फिट क्षेत्रफलमा रहेको योजना प्रमुख वनले जानकारी दिनुभयो । नगरपालिका र वनवाटिकाको लागत साझेदारीमा निर्माण भएको टावरको लागत ११ करोड ४५ लाख रुपैयाँ हो । टावरसँगै आसपासको क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि विभिन्न संरचनासमेत निर्माण हुनेछन् । लिफ्ट सुविधासहित बनेको टावरसँगै दुई बिघा क्षेत्रफलमा अन्य पर्यटकीय पूर्वाधार र संरचना निर्माणको काम पनि अघि बढेको छ ।

टावरको उत्तरतर्फ स्विमिङ पुल र अगाडि म्युजिकल फाउन्डेशन निर्माण गरिने योजना रहेको नगरपालिकाले जनाएको छ । टावरको सबैभन्दा माथिल्लो तलाबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म सजिलै देख्न सकिने छ भने दूरबिनको प्रयोग गर्दा भारतको गोरखपुर, नौतनवासम्मका सहर देख्न सकिने जनाइएको छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया