चुनावमा तालमेल बाध्यकारी हाेइन, कांग्रेसलाई धेरै सिटमा जिताउन हाे : शर्मा

 चैत १६, २०७८ बुधबार १९:५९:७ | रासस
unn.prixa.net

फाइल फाेटाे

काभ्रेपलाञ्चोक – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावमा तालमेल बाध्यकारी नभएको बताउनुभएको छ । उहाँले पार्टीको काभ्रेपलाञ्चोक जिल्ला समितिद्वारा आज बुधवार बनेपामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा आवश्यकताका आधारमा स्थानीय स्थिति र भावनामा भने तालमेल हुने बताउनुभयो । 

‘चुनावमा अन्य दलसँगको तालमेल बाध्यकारी भने होइन, तर आवश्यकताका आधारमा स्थानीय स्थिति र भावनामा तालमेल हुन्छ’, शर्माले भन्नुभयो । उहाँले पार्टी केन्द्रीय समितिले स्थानीय आवश्यकताको आधारमा सम्बन्धित स्थानीय तहले तालमेल गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धन हुँदा भने साझा चुनावी घोषणापत्र बनाउनुपर्ने हुन्छ ।’ गठबन्धन हुने स्थानीय तहमा सुझबुझपूर्ण ढङ्गले पार्टीले बनाएको नियमकै आधारमा उम्मेदवार छनोट हुने उहाँले दोहोर्‍याउनुभयो । 

नेता शर्माले कांग्रेसलाई धेरैजसो स्थानीय तहमा निर्वाचित गराउन तालमेल गर्न लागिएको दाबी गर्नुभयो । ‘गठबन्धन हुँदा सहयात्री दलबीच कुन तहमा कस्ता उम्मेदवारी दिने भन्ने विषयले चर्चा पाउन थालेको छ, यसबारे पार्टीको संसदीय बोर्डले निर्णय गर्छ’, उहाँले भन्नुभयो । उहाँले एक सय ५५ स्थानीय तहमा कांग्रेसका उम्मेदवार पराजित भएका ठाउँमा दश प्रतिशत र पराजित ८४ स्थानीय तहमा पाँच प्रतिशत मत बढाउँदा विजयी हुनसक्ने तथ्याङ्क आँकलन गर्नुभएको थियो । 

कार्यक्रममा जिल्ला सभापति तीर्थ लामाले आसन्न निर्वाचन लक्षित पार्टीको एक महिने ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानसँगै सङ्गठन विस्तारमा लागिएकाले जिल्लाको १३ स्थानीय तहमै नेपाली कांग्रेस विजयी हुने योजना बनाइने बताउनुभयो । 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया