३ दिने भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

 चैत २०, २०७८ आइतबार १९:४७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – भारतको तीन दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री शेरबहादुर देउवा आज आइतवार बेलुका काठमाण्डौ फर्कनुभएको छ । देउवा नेपाल एअरलाइन्सको जहाजबाट काठमाण्डौ फर्कनुभएको हो । उहाँलाई कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाण, मन्त्रीहरूलगायतले स्वागत गरेका छन् । 

गएको शुक्रवार भारत जानुभएका देउवाले भारतीय उपराष्ट्रपति, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर लगायतसँग भेटवार्ता गर्नुभएको थियो । यस्तै नेपालको बिजुली भारतले किन्ने र बङ्गलादेश तथा भुटानसम्म बेच्ने संरचना निर्माणको विषयमा सम्झौता भएको छ । देउवाले सीमा विवादको कुरा पनि मोदीसँग उठाउनुभएको छ । यस विषयमा मोदीले प्रतिक्रिया नदिए पनि भारतीय विदेश मन्त्रालयले समेत सकारात्मक प्रतिक्रिया दिएको छ । देउवा र मोदीले जनकपुर–जयनगर रेल र सोलु कोरिडोर विद्युत् प्रसारण लाइनको उद्घाटन पनि गर्नुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज धार्मिक नगरी वाराणसी पुगेर पूजाआजा गर्नुभएको छ । बिहान वाराणसी पुग्नुभएका देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नुभएको थियो । त्यसपछि देउवाले वाराणसीको प्रसिद्ध काशी विश्वनाथ मन्दिरमा पूजाआजा गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले वाराणसीकै ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण हुने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गर्नुभयो । नेपाल सरकारले वृद्धाश्रमका निम्ति एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । नेपालबाट तीर्थयात्रामा पुग्नेहरूका लागि ३५ कोठे वृद्धाश्रम निर्माण गर्न लागिएको हो । नेपाली शैलीको हुने भवनको पुरातत्त्व विभागले नक्साङ्कनको काम गरिरहेको छ । 

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया