देशको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न एमाले सक्षम छ : अध्यक्ष ओली

 चैत ३०, २०७८ बुधबार १७:२३:१५ | रासस
unn.prixa.net

माेरङ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशकाे लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न नेकपा एमाले सक्षम रहेको बताउनुभएको छ । 

एमाले विराटनगर महानगरले आज बुधवार आयाेजना गरेकाे वृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले विभिन्न भाषाभाषी र भूगोलमा बस्ने सम्पूर्ण नेपालीको साझा अभियानबाट सङ्घीय गणतन्त्र र नागरिकमा सार्वभौमसत्ता निहित गर्ने महान् अभियानमा सरिक बनाउने कार्यमा पार्टी लागेको बताउनुभयो । 

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले नेपालको पानी नेपालीका लागि प्रयोग हुनुपर्नेमा जोड दिँदै उद्यमी, व्यवसायीले पर्यटन र निर्यातमुखी उद्योग स्थापना गरेर देशलाई आत्मनिर्भर बनाउनुपर्ने र यसमा आफ्नो पार्टीले सक्दो सहयोग गर्ने उल्लेख गर्नुभयो ।

उहाँले देशलाई अस्थिरतातर्फ धकेल्ने कोही कसैको कार्यलाई कहिले पनि सफल हुन नदिने दृढता व्यक्त गर्दै जनप्रतिनिधिविहीन पालिका बनाउने षड्यन्त्रलाई नेपालीले नमान्ने बताउनुभयो । 

अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा हुलाकी राजमार्ग र पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति गर्ने कार्यलाई तीव्रता दिएको तथा विभिन्न विमानस्थलको विस्तार गरी राति सेवा सञ्चालन गराएको दाबी गर्नुभयो । उहाँले पाँच दलीय गठबन्धनले देशको अर्थतन्त्र धराशायी बनाएको आरोप लगाउँदै निर्माण सम्पन्न गरेका विभिन्न ठेकेदारले भुक्तानी नपाएकोमा गुनासो गर्नुभयो । 

अध्यक्ष ओलीले विसं २०५१ मा मासिक एक सयदेखि सुरु गरेको ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता अहिले दैनिक एक सय ३३ रुपैयाँ कायम भएको र कर्मचारीको सहज जीवनयापनका लागि तलब वृद्धिसमेत गरेको स्मरण गराउनुभयो । 

कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न पार्टी छोडेर एमालेमा प्रवेश गर्नेहरूलाई पार्टीमा स्वागत गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया