ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
म्याग्दी - आज नयाँ वर्ष २०७९ को पहिलो दिन । म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिकस्थलमा हिजाेदेखि नै आन्तरिक तथा बाह्य पर्यटक र भक्तजनको भिड लागेको छ ।
नयाँ वर्ष मनाउनका लागि देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक म्याग्दीका घोडेपानी, पुनहिल, तातोपानी र मुस्ताङको मुक्तिनाथ, जोमसोम, कागबेनीलगायतका क्षेत्रमा आएका छन् ।
मन्दिर र देवालयको दर्शन गर्न तथा कालीगण्डकीमा स्नान गर्न जानेको पनि घुइँचो छ । नयाँ वर्षको सुरुआतसँगै म्याग्दीका पर्यटकीय क्षेत्र आन्तरिक पर्यटकले खचाखच भरिन थालेका छन् भने मन्दिर, देवालय र शक्तिपीठमा भक्तजनको घुइँचो लाग्न थालेको छ ।
पाहुनाका कारण म्याग्दीको सदरमुकाम बेनी बजारका होटल खचाखच भरिएका छन् भने सडकमा सार्वजनिक र निजी गाडी बिहानैदेखि बाक्लै गुडेका बेनीको प्रवेशनाका कालीपुलमा रहेकाे ट्राफिक प्रहरीले जनाएको छ । बुधवार रातिसम्म बेनीमा भित्रिएका दुई हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटक आज बिहानै मुस्ताङको मुक्तिनाथ र म्याग्दीका पर्यटकीयस्थल टोड्के, भुरुङ तातोपानी, रुप्से झरनालगायत क्षेत्रतर्फ लागेका छन् ।
त्यसैगरी नयाँ वर्षको पहिलो दिन म्याग्दीको पर्यटकीय स्थल पुनहिलबाट सूर्योदयको अवलोकन गर्न एक हजारभन्दा बढी पर्यटक बुधवार नै घोडेपानी पुगिसकेका घोडेपानीका होटल व्यवसायीले बताएका छन् । स्थलमार्गबाट मुस्ताङ जाने पर्यटकका लागि बेनी प्रवेशद्वारसमेत भएको हुनाले मुस्ताङ जाने पर्यटकको भिड बेनीमा देख्न सकिन्छ ।
घोडेपानी टोल सुधार समितिका संयोजक विरेन गर्बुजाका अनुसार नयाँ वर्ष मनाउन देशका विभिन्न ठाउँबाट अघिल्लो दिनदेखि नै घोडेपानीमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहेको छ । घोडेपानीमा बास बसेका पर्यटक अहिले बिहानै पुनहिलतिर उकालो चडिरहेका गर्बुजाले जानकारी दिनुभयो ।
चितवनको भरतपुर उपमहानगरपालिका–२ क्षेत्रपुरबाट घोडेपानी भ्रमणमा आउनुभएका चिरञ्जीवी पौडेल, रक्षा पौडेलसहित उहाँको समूहका १२ जना युवायुवतीले पाँच दिनसम्म म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक क्षेत्रको भ्रमण गर्ने र नयाँ वर्ष यहीँ मनाउने योजना रहेको सुनाउनुभयो ।
केही दिनयता बेनीमा आन्तरिक पर्यटकको आगमन साविकको भन्दा उल्लेख्यरुपमा बढेको बेनीका होटल व्यवसायीले बताएका छन् । चैत अन्तिम हप्तादेखि म्याग्दीका प्रायजसाे ठूला होटल भरिभराउ भएको होटल व्यवसायी सङ्घका अध्यक्ष बाबुराम आचार्यले जानकारी दिनुभयो ।
पहिला नेपाली र भारतीय पर्यटकको रोजाइ बनेको मुक्तिनाथ मन्दिर सोझै गएर फर्कने चलन थियो, तर पछिल्ला वर्षमा मुक्तिनाथ पुगेका पर्यटक बेनी, बाग्लुङ कालीका र पञ्चकोटमा समेत पुग्ने गरेकाले यस क्षेत्रको पर्यटकीय विकासमा थप सहयोग पुगेको उहाँको भनाइ थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।