कक्षा एकमा पढ्न चार घण्टा हिँड्नुपर्ने बाध्यता

 वैशाख २, २०७९ शुक्रबार १३:१९:४० | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

म्याग्दी - म्याग्दीको दुई गाउँका बालबालिकालाई कक्षा १ मा पढ्नका लागि दैनिक चार घण्टा हिँड्नुपर्ने बाध्यता छ । रघुगङ्गा गाउँपालिका–६ ठाँटी र मूलपानीका बालबालिका दिनहुँ यसरी विद्यालय आउजाउ गर्न बाध्य छन् । 

झोलाभरि किताब र कापी बोकेर दैनिक चार घण्टा हिँडेर विद्यालय जान र घर फर्किन उनीहरुलाई निकै सकस हुने गरेको छ । बालबालिका भिर, पाखा र खहरे खोलालाई छिचोल्दै रायखोरमा रहेकाे रायखोर आधारभूत विद्यालय पुग्छन् । पहिरो, जङ्गल र खोला भएको अप्ठ्यारो र भिरालो बाटो हुँदै दैनिक विद्यालय आउजाउ गर्ने ठाँटी र मूलपानीका १७  बालबालिका गाउँमा प्राथमिक तहसम्मको विद्यालय नहुँदा यस्तो समस्या भोग्न बाध्य छन् । 

सडक सञ्जालले नछोएको ठाँटी र मूलपानीकी सजिना शेरपुञ्जा र रजिना शेरपुञ्जा मूलपानी बालविकास केन्द्र पढ्न जाने गरेका छन् । उनीहरु जस्तै गाउँका २७ परिवारका विद्यार्थीले वर्षौँदेखि यस्तै पीडा झेल्दै आएका रायखोरका विकास पुर्जाले बताउनुभयो । टाढा भएकाले विद्यार्थी नियमित विद्यालय नआउने गरेको उहाँले बताउनुभयो । 

कक्षा १–५ रायखोर र कक्षा ६–१० का लागि विद्यार्थी पढ्न पाखापानी र छिमेकी कुइनेमङ्गलेको रितुङ मावि जानुपर्ने भएकाले कतिपय बीचमै विद्यालय छोड्न बाध्य छन् । 'विद्यालय पुग्न दुई घण्टा लाग्छ, बर्खाको समयमा तीन महिना नियमित विद्यालय जानै पाउँदैनन्', पुर्जाले भन्नुभयो । उहाँले गाउँबाट विद्यालयसम्म पुग्ने पैदलमार्गमा चार ठाउँमा पहिरो जाने भएकाले असारदेखि भदौसम्म विद्यार्थीलाई सकस हुने गरेको बताउनुभयो ।

'दैनिक चार घण्टाको यात्राले थकाइ लागेर पढ्नै सक्दैनन्, गाउँमै विद्यालयको आवश्यकता छ', अभिभावक इन्द्रा पुनले भन्नुभयो । भिरको बाटो भएकाले एक्लै पठाउन समस्या हुने गरेको मूलपानीकी धनकुमारी पुनको भनाइ छ । 'बिहान उठ्ने बित्तिकै विद्यालय जाने हतारो हुन्छ, घर फर्किँदा झमक्क साँझ परिसकेको हुन्छ', उहाँले भन्नुभयो । 

मूलपानीमा प्राथमिक तहको विद्यालयका लागि पहल भइरहेको तर विद्यार्थी सङ्ख्या थोरै भएकाले मापदण्ड पूरा गर्न नसक्दा समस्या भएको वडासदस्य लिलाबहादुर पुनले बताउनुभयो । 'मूलपानीमा प्राथमिक तहसम्मको विद्यालय सञ्चालनका लागि माग गरेका छौँ', उहाँले भन्नुभयो ।

रघुगङ्गा–६ का वडाध्यक्ष मनप्रसाद शेरपुञ्जा बस्ती छरिएकाले सबै ठाउँमा विद्यालयको अनुमति पाउन समस्या भएको बताउनुभयो । मूलपानीमै कक्षा १ सम्म पठनपाठनको व्यवस्था मिलाउन लागिएको उहाँ बताउनुहुन्छ । बस्तीसम्म सडक खने राहत हुने शेरपुञ्जाले बताउनुभयो।

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया