एमाले अध्यक्ष ओलीद्वारा घलेगाउँलाई ‘सुखी गाउँ’ घोषणा

 वैशाख २, २०७९ शुक्रबार १८:३०:४६ | रासस
unn.prixa.net

लमजुङ – पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको दक्षिण एसियाकै नमुना घलेगाउँलाई सुखी गाउँ घोषणा गर्नुभएको छ । लमजुङ क्व्होलासोंथर गाउँपालिका ३ मा रहेको पर्यटकीय यस गाउँलाई आज शुक्रवार एक कार्यक्रमबीच उहाँले सुखी गाउँ घोषणा गर्नुभयो ।

हेलिकप्टरबाट घलेगाउँ आउनुभएका अध्यक्ष ओलीले आधुनिक गाउँ र स्मार्ट भिलेजका रूपमा घलेगाउँ अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘घलेगाउँ घरवासले नयाँ ढङ्गले विकास गरेको छैन, अरूका लागि पनि उदाहरणीय बनेको छ, घलेगाउँबाट सिक्न जरुरी छ ।’ अध्यक्ष ओलीले घलेगाउँमा रहेको उत्तरकन्य प्राविलाई आधुनिकीरण र प्रविधियुक्त विद्यालय बनाउनुपर्ने बताउनुभयो । 

काम नगरि बस्ने, खानेलाई सुखी नभनी गाउँमा बसी आफैँ उत्पादन गर्ने, आत्मनिर्भर बन्ने र आर्थिकरूपमा बलियो भएकाले यस गाउँलाई सुखी गाउँ भनिएको घलेगाउँ क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सहरमा पाउने सुविधा घलेगाउँमा पाउन सकिन्छ । सडक, बिजुली, टेलिफोन, इमेल, इन्टरनेट, घरघरमा खानेपानी, शौचालय, विद्यालय, आधारभूत स्वास्थ्य सेवालगायतको सुविधा पुगेको छ । स्थानीयवासीले पर्यटन विकास गरी सुखी भएको र आनन्दका साथ बसेकाले सुखी गाउँ भनिएको हो ।’ 

एक सय ३० घरधुरी रहेको यहाँ सबै एकै प्रकारको रातो रङको जस्तापाताको छानो छ । २०५७ वैशाख २३ गते प्रथम महोत्सव गरी घलेगाउँमा १२ घर घरवास (होमस्टे) स्थापना गरेको यहाँ यति बेला ४२ घरमा घरवास कार्यक्रम रहेको छ । होमस्टेमा एकै प्रकारको आरामदायी कोठा छन् । सडक, बिजुली, टेलिफोन, इन्टरनेट, खानेपानी, विद्यालय, स्वास्थ्यलगायत आधारभूत सुविधापछि घलेगाउँ २०७६ साल मङ्सिर १७ गते स्मार्ट भिलेज घोषणा भएको थियो । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) ले घलेगाउँलाई नेपालकै उत्कृष्ट होमस्टेको रूपमा पुरस्कृतसमेत गरेको थियो । त्यस्तै त्यसअघि घलेगाउँले दुई पटक दक्षिण एसियाकै नमुना घोषणा भइसकेको छ । जिल्लाकै सबैभन्दा बढी पर्यटक यस गाउँमा आउने गर्दछन् । होमस्टे सञ्चालकले प्रतिमहिना ४० देखि ६० हजार रुपैयाँ आम्दानी गर्दै आएका छन् । 

होमस्टे सञ्चालन गरिएको ४२ घरबाहेक अन्य घरका वासिन्दाले पर्यटकका लागि आवश्यक अन्न, तरकारी, फलफूल, मासु, अण्डालगायत उत्पादन र स्वरोजगारमा जीवनयापन गर्दै आएका छन् । केही चोया, ऊन, अल्लोलगायतबाट हस्तकलाका सामग्री तयार पार्छन् । केहीले व्यावसायिक पसल चलाएका छन् । भेडाको लागि गाउँलेको आफ्नै गोठ छ । घुम्ती पशुपालन र कृषिबाट पनि गाउँलेले आम्दानी गरेका छन् । केही वैदेशिक रोजगारीमा पनि छन् । 

एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री तथा नेता भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा ‘आफ्नो गाउँ आफैँ बनाऔँ’को नारालाई सार्थक बनाउने परिकल्पना थालेअनुसार  नै घलेगाउँलाई आज सुखी गाउँ बनाउन सफल भएको बताइएको छ । 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Parbati sharma

    April 15, 2022, 10:43 p.m.

    नेपालका अधिकांश स्थान ग्रामीण बस्तीले भरएका छन्।उक्त स्थानमा केन्द्रकाे त कुरै छाेडाै स्थानीय सरकारकाे समेत ध्यान पुगेकाे छैन।सम्माननिय ब्यक्तिले सुगम,विकसित र पहिचान बनाउन सफल गाउँमा गएर घाेषणन गर्नु कुनै ठुलाे कुरा मानिदैन।यदि समृद्द नेपाल र सुखि नेपालिकाे चाहा पूरा गर्ने हाे भने त्यस्तो बस्तिमा पग्,जहाँ अझै पनि शिक्षाको पहुँच छैन,सडक यातायात खानेपानि छैन।पहाडी भेगमा कम उत्पादन अझ त्यसैमाथि जङ्गली जनावरले अाक्रान्त पारेर भाेक भाेकै बस्नु पर्ने बाध्यता छ।सामान्य अाैषधि उपचारका लागि दिन नै माया मार्ने,रासनकाे लागि लामाे समय कुर्र्नुपर्ने ।एक मात्रै गाउँ नमुना भएर के गर्नु अरु गाउँ लाजमर्रदाे भएपछि?याे त ठुला दलका नेता भनाैदाले नै साेच्नु पर्ने बिषय हाेइन र ?

  •  0 Reply

तपाईको प्रतिक्रिया