एमालेलाई पैसामा किन्न सम्भव छैन : अध्यक्ष ओली

 बैशाख ७, २०७९ बुधबार १८:१०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई पैसामा किन्न सम्भव नभएको बताउनु भएको छ । पालिका चुनावकाे तयारी भइरहँदा अध्यक्ष ओलीले अनुचित पैसा, अनुचित कारोबार, अनुचित प्रलोभनलगायतका गतिविधिलाई आफ्नो पार्टीले छेउमा पनि पर्न नदिने दाबी गर्नुभयो । 

आज बुधवार ललितपुरको गोदावरीमा रहेकाे सनराइज सभाहलमा आयोजित 'युवासँग म' अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीलाई एक युवाले एक मेहनति युवा र सात करोड रुपैयाँ दिनेमध्ये कसलाई चुनावमा टिकट दिनुहुन्छ भनी प्रश्न गरेका थिए । त्यही प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, ‘राजनीति कसैको पनि ठेक्कापट्टाको विषय होइन । यो सबैका लागि खुला छ । सबैले यसमा भाग लिन पाउँछन् । नेकपा एमालेले अनुचित पैसा, अनुचित कारोबार, अनुचित प्रलोभन, अनफेयर खालका क्रियाकलापमा विश्वास गर्दैन । र यस्ता कुराहरूलाई छेउमा पनि पर्न दिँदैन । सात करोड होइन, सात सय करोड, सात हजार करोड, सात लाख करोड जति अफर कसैले गर्छ भने पनि एमालेलाई किन्न सम्भव छैन ।’

अध्यक्ष ओलीले फरक प्रसङ्गमा प्रतियुनिट ३४ रुपैयाँ घाटामा भारतसँग बिजुली खरिद गर्नेहरूको फोटोलाई लिएर भोट माग्न हिँड्ने पार्टीहरू सत्तारुढ गठबन्धनमा रहेको भन्दै कटाक्ष पनि गर्नुभयो । केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो फेसबुक स्टाटसमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटोसहितको चुनावी प्रचार सामग्री पोस्ट गर्नुभएकाे थियाे तर त्यसकाे चाैतर्फी आलाेचना भएपछि घिसिङकाे फाेटाे हटाउनु भएको थियो । 

अध्यक्ष ओलीले देशको समृद्धि र विकासमा साथ र सहयोगको अपेक्षासहित आफूले युवाहरूसँग अन्तरक्रिया कार्यक्रम सुरु गरेको र यसलाई हरेक वर्ष निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । कार्यक्रममा युवाहरूले आयात प्रतिस्थापन हुने गरी कार्यक्रम ल्याउन, संविधानले व्यवस्था गरेको मौलिक हकहरूको कार्यान्वयनमा विशेष ध्यान दिन ओलीलाई आग्रह गरेका थिए । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया