‘समृद्धिको यात्रामा नेपालले सिंगापुरबाट धेरै कुरा सिक्न सक्छ’

 असोज १, २०७५ सोमबार १८:५१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – मदन भण्डारी फाउण्डेशनले ‘सिंगापुर परिवर्तनको कथाः तेस्रो विश्वबाट पहिलो विश्वतर्फः नेपालका निम्ति नीतिगत पाठहरु’ शीर्षकमा एक व्याख्यान कार्यक्रम आयोजना गर्यो । 

कार्यक्रमका प्रमुख वक्ता नानयाङ प्राविधिक विश्वविद्यालयमा नीति समाजशास्त्र विषयका अवकाश प्राप्त प्राध्यापक ग्यारी लिट हुनुहुन्थ्यो । प्राध्यापक ग्यारीले सन् १९६५ मा स्वतन्त्र हुँदा अत्यन्त गरिब र कमजोर रहेको सिंगापुरले त्यहाँका प्रधानमन्त्री ली क्वान यू को नेतृत्वमा कसरी अपत्यारिलो समृद्धि हासिल गर्यो भन्ने विषयमा व्याख्यान दिनुभएको थियो । 

बेलायती उपनिवेशबाट स्वतन्त्र हुँदा सिंगापुरको आफ्नो सेना, शासकीय संरचना वा कर्मचारीतन्त्र थिएन् । शुन्यबाट राष्ट्र निर्माण सुरु गरेर ली क्वान यूले समृद्ध सिंगापुर बनाउने यात्रामा भ्रष्टाचारविहीन अर्थ व्यवस्था, योग्यतामा आधारित राज्य संरचना र अनेकतामा एकताको बलियो आधारशीला तयार गरेको प्राध्यापक ग्यारीको कथन थियो ।
समृद्धिको बाटोमा हिँड्न आतुर नेपाल जस्ता राष्ट्रका निमित्त कानूनको शासन, सक्षम कर्मचारी प्रशासन, भ्रष्टाचारविरुद्ध निरन्तर लडाईं तथा राजनीतिक र सामाजिक स्थायित्व महत्वपूर्ण हुने पनि उहाँले बताउनुभयो ।

सिंगापुरमा विभिन्न समुदायको प्रतिनिधित्वका लागि कानूनी व्यवस्था भए पनि त्यहाँको प्रगतिको पहिलो आधारशिला योग्यतामा आधारित सरकारी संरचनाको निर्माण भएको प्राध्यापक ग्यारीको कथन थियो ।

शासन संचालनका सिलसिलामा नेतृत्वले अलोकप्रिय निर्णय पनि लिनु पर्ने हुनसक्छ । सिंगापुरमा मन्त्रीहरुको तलब संसारकै सबैभन्दा धेरै बनाउँदा विरोधको सामना गर्नुपरे पनि लि क्वान यूले तलबको जवाफदेहिता नागरिकसामु प्रस्तुत गर्ने र भ्रष्टाचार रोक्न आफ्नो कदम सहयोगी हुने विश्वास आफ्ना नागरिकलाई दिलाएर उक्त निर्णय लागू गराएको दृष्टान्त प्राध्यापक ग्यारीले पेश गर्नुभयो ।

प्राकृतिक श्रोतको अभावलाई चिर्न सिंगापुरले राज्यस्तरबाट आफ्ना नागरिकहरुको प्रगतिमा ठूलो आर्थिक र बौद्धिक लगानी गरेको उहाँको कथन थियो ।
लि क्वानु यूले उठाएका विभिन्न सुधारात्मक कदमका उदाहरण दिँदै प्राध्यापक ग्यारीले साना र ठूला दुवै प्रकारका नीतिगत सुधारले नागरिकको जीवनस्तर उकास्न भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता दक्षिण एशियाली विकास कोषका सुशासन सल्लाहकार टीकाप्रसाद ढकालले गर्नुभएको थियो । नेपालको संविधानले नेपाललाई समाजवाद उन्मूख राष्ट्र बनाउने प्रण गरेको उल्लेख गर्दै उहाँले सिंगापुरको उदाहरणबाट पूँजीवादी साधनको व्यापक उपयोग गरेर समाजवादी उद्देश्य प्राप्त गर्न सकिने बताउनुभयो ।

नागरिकको आफ्नो राज्य र सरकारप्रति विश्वास रहेको अवस्थामा सरकारले अलोकप्रिय तर जरुरी निर्णय लिँदा पनि नागरिकको व्यापक समर्थन प्राप्त भइरहने उदाहरण ली क्वान यूको नीति र नेतृत्वले पेश गरेको उहाँको भनाई थियो । 

विभिन्न क्षेत्रका विषय विज्ञ, वुद्धिजिवी, सांसद, प्राध्यापक, विद्यार्थी लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमको सुरुवातमा मदन भण्डारी फाउण्डेशनका सचिव एवम् पूर्व सांसद पेम्बा लामाले गर्नुभएको थियो ।

मदन भण्डारी फाउण्डेशनको एउटा प्रमुख उद्देश्य विचार र नीति निर्माणमा योगदान गर्ने रहेको बताउँदै उहाँले फाउण्डेशनलाई देशको प्रमुख थिङ्क ट्याङ्कका रुपमा अगाडि लैजाने बताउनुभयो ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया