रुकुम पश्चिममा माओवादी गाउँ कमिटी अध्यक्षसहित ३ जना पक्राउ

 बैशाख २७, २०७९ मंगलबार १९:२३:८ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिममा तीन जना नेकपा माओवादी केन्द्रका कार्यकर्ता पक्राउ परेका छन् । प्रहरी चौकी तोडफोड गरेको आरोपमा माओवादी गाउँ कमिटी अध्यक्ष र मोटरसाइकल आगजनी गरेको आरोपमा दुई जना कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

आज मङ्गलवार बिहान माओवादी केन्द्र त्रिवेणी गाउँ कमिटीका अध्यक्ष गणेशबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको हो । त्यसैगरी आठबीसकोट नगरपालिका १० का विशाल ओली र प्रेमप्रकाश ओलीलाई पनि प्रहरीले पक्राउ गरेको हो । 

गएको २२ गते त्रिवेणी गाउँपालिका ९ को नुवाकोट प्रहरी चौकी माओवादी कार्यकर्ताले तोडफोड गरेको आरोपमा खड्कालाई पक्राउ गरिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक डीएसपी बिष्णुप्रसाद सोतीले प्रहरी चौकीमा भएको तोडफोडको विषयमा अनुसन्धान खड्कालाई प्रहरी कार्यालय ल्याइएको हो । 

नेपाली कांग्रेसका कार्यकर्तासँग झपड भएको र कांग्रेसका कार्यकर्ता ज्यान जोगाउन प्रहरी चौकी पुगेको बेला माओवादी कार्यकर्ताले प्रहरी चौकी नै तोडफोड गरेर कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेको प्रहरीको आरोप छ । चौकीको छत भत्काएको, सोलार सेट तोडफोड भएको, झ्याल ढोका तोडफोड भएको बताइएको छ । 

कुटपिटमा परेर आठ जना कांग्रेस कार्यकर्ता घाइते भएका थिए । कांग्रेसका त्यही दिन माओवादी कार्यकर्ताले आफ्नो पार्टीबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवार अमरसिंह खड्काले प्रयोग गरेको रा १ च १२६२ नम्बरको जीपसमेत तोडफोड गरेका थिए । यस्तै माओवादी कार्यकर्ताले त्रिवेणी गाउँपालिका ५ मा आयोजित चुनावी सभास्थलमा आगजनी गरेका कांग्रेसको आरोप छ । 

२१ गते बेलुका कांग्रेसका कार्यकर्ताले मोटरसाइकल तोडफोड गरेका, चुनावी पर्चा र झण्डा फालेका भन्दै माओवादी कार्यकर्ता आक्रोशित भएर भोलिपल्ट कांग्रेस कार्यकर्तामाथि जाइलागेका थिए । कांग्रेस कार्यकर्ताले माओवादी कार्यकर्ताको बारीको केरा काटेको, घरमा आगो लगाइदिएको माओवादीको आरोप छ । 

त्यसैगरी हिजो सोमवार आठबीसकोट नगरपालिका १० मा कांग्रेसका कार्यकर्ताको मोटरसाइकल आगजनी गरेको आरोपमा विशाल र प्रेमप्रकाश ओलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया