बुद्ध एअरले ६ वटा विमानस्थलबाट रात्रिकालीन उडान गर्ने, सस्तो ट्याक्सीका लागि टुटलसँग समन्वय

 बैशाख २९, २०७९ बिहिबार १४:१०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बुद्ध एअरले ६ वटा विमानस्थलबाट रात्रिकालीन उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडान अवतरण सुविधा भएका विमानस्थलहरू १८ घण्टा खुला राख्ने निर्णय स्वागतयोग्य भएको भन्दै बुद्धले ६ वटा विमानस्थलबाट रात्रिकालीन उडान गर्ने भएको हो । 

मे १५ तारिख अर्थात् जेठ १ गतेदेखि जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमराबाट उडान गर्ने बुद्धले जनाएको छ । प्राधिकरणले स्वीकृत गरेको तालिकाको १३ प्रतिशत उडान राति ८ बजेपछि हुने बुद्धको भनाइ छ । दैनिक कामकाजमा व्यस्त यात्रुका लागि रात्रिकालीन उडानले सहजता प्रदान गर्ने र रात्रिकालीन उडान बिहान दिउँसोको तुलनामा सहज, सरल र सस्तो हुने पनि जनाएको छ । 

बुद्ध एअरले रात्रिकालीन उडान हुने गन्तव्यहरूमा त्यहाँको प्रदेश र स्थानीय सरकारसँग सार्वजनिक यातायातको सुविधाका लागि अनुरोध गरेको छ । यात्रुको थप आउजाउले स्थानीयस्तरमै रोजगार सिर्जना हुने र राजस्व वृद्धिमा पनि भूमिका खेल्ने बुद्ध एअरको दाबी छ । 

बुद्ध एअरले काठमाण्डाैमा शेयर राइडिङ कम्पनी 'टुटल' सँग समन्वय गरी रात्रिकालीन उडानका लागि ट्याक्सीमा आकर्षक छुटको अफर पनि ल्याउन लागेको जानकारी दिएको छ ।

अहिले काठमाण्डौबाहिर पोखरालाई हब बनाएर त्यहाँबाट अरू प्रदेशमा उडान गरिरहेको बुद्धले अब भैरहवा विमानस्थललाई पनि दोस्रो हबको रूपमा सबै प्रदेशबाट जोड्न लागेको जनाएको छ । बुद्धले भैरहवाबाट पोखरा र भरतपुरको उडान सञ्चालनमा ल्याइसकेको छ । चाँडै भैरहवाबाट विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, नेपालगञ्ज र धनगढीमा क्रमशः उडान भर्ने योजना बुद्ध एअरको रहेको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया