२०४८ सालदेखिकाे एमालेकाे जनमतमा तलमाथि भएकाे छैन : ज्ञवाली

 जेठ ५, २०७९ बिहिबार १६:३७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमण्डाै – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पालिका चुनावमा पार्टीको जनमत यथावत् रहेको बताउनुभएको छ । आज बिहीवार प्रतिनिधि सभा बैठकका लागि संसद भवन पुग्नुभएका ज्ञवालीले सञ्चारकर्मीहरूसँगकाे कुराकानीमा आफूहरूको जनमत यथावत् रहेको बताउनुभएको हो । उहाँले अन्य पार्टीसँग थोरै मतअन्तर रहेका ठाउँहरूमा गठबन्धनका कारण आफूहरूको पराजय भएको बताउनुभयो । 

ज्ञवालीले भन्नुभयो, ‘हामी देशैभरिको तथ्यहरू सङ्कलन गरिरहेका छौँ । हाम्रो समग्र जनमत यथावत् छ । तर पाँच सय, एक हजारको प्रतिस्पर्धामा रहेका ठाउँहरूमा एउटा अर्को पार्टी थपिनेबित्तिकै त्यसले परिणाममा त फरक पार्ने भयाे । हाम्रो औसत जनमत, ४८ सालकाे चुनावदेखिकाे लोकप्रिय मतमा तलमाथि भएको म देख्दिनँ ।’

उहाँले पार्टीकाे आन्तरिक कारणले पनि कतै–कतै चुनाव हारेको भन्दै त्यसको समीक्षा गर्ने बताउनुभयो । उपमहासचिव ज्ञवालीले संसदको यस अधिवेशनमा संवेदनशील खालका विधेयकहरू टुङ्ग्याउनुपर्ने र त्यसमा एमालेको सहयोग हुने बताउनुभयो । 

ज्ञवालीले नेकपा (एकीकृत समाजवादी) लाई सभामुख र अदालतले बचाइदिएको भए पनि जनताले नबचाइदिएको टिप्पणी गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया