गौतमबुद्ध विमानस्थलले श्रमिकको मुहारमा ल्याएको खुसी

 जेठ १०, २०७९ मंगलबार १५:१२:१३ | नारायण कोइराला
unn.prixa.net

देशमा करिब चार दशकपछि दोस्रो नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । गौतम बुद्धको जन्मस्थल नजिकै रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको चर्चा देश विदेशमा भइरहेको छ ।

यो विमानस्थल सञ्चालनमा आएपछि परदेशमा रहेका नेपाली पनि खुसी भएका छन् । आफूलाई पायक पर्ने ठाउँमा विदेशबाट सिधै जान पाउने भएपछि कतिपय मक्ख परेका छन् । काठमाण्डौ गएर फेरि घर जानु पर्ने बाध्यताको अन्त्य हुँदा नारायणी नदी पश्चिमकाहरु खुसी छन् । 

काठमाण्डौमा एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुँदा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले विभिन्न समस्याहरू भोग्न पथ्र्यों ।

विदेशबाट आउँदा पनि लामो समय होल्डमा बस्नु पर्ने, केही समस्या भएमा अर्काको देशमा ल्याण्ड गर्नु पर्ने बाध्यता थियो । अब कुनै एउटा विमानस्थलमा केही समयमा भएमा जहाज ल्याण्ड गरेमा अर्काको देशमा जान पर्दैन यो श्रमिकका लागि खुसीको कुरा हो । 

तर दुःखको कुरा के भने यो विमानस्थलबाट हाम्रो राष्ट्रिय विमानले कहिले आफ्ना नागरिक लिएर उड्ला । अहिले विमानस्थल सञ्चालनमा आए पनि हामीले विदेशी जहाज नै चढ्न परेको छ । 

अरूको आस, भरोसामा कहिलेसम्म चल्ला ? अरू देशका जहाजले उडान भरेर हाम्रो यात्रा सहज त बनाउलान् तर हाम्रो आर्थिक विकासको लागि आफ्नै उडान नहुनु दुर्भाग्य नै हो । 

दोस्रो विमानस्थल सञ्चालन हुनु ऐतिहासिक कुरो यो । तर यसलाई अन्य कम्पनीका जहाज उडाएर विदेश पठाउने श्रमिकबाट भाडा उठाउने माध्यम मात्र बनाउनु कत्तिको उपयुक्त हो  ? अहिलेको अवस्थामा दोस्रो विमानस्थल सञ्चालन हुने बित्तिकै यसको महत्त्व परदेसिएका नेपाली श्रमिकसँग जोडिएको छ । तर विमानस्थललाई श्रमिकसँग जोड्नु एउटा पाटो होला तर सबै थोक हो भन्न सकिँदैन । 

सरकारले लाखौँ पर्यटकलाई आकर्षित गर्छौँ, कृषि सामग्री निर्यात गर्छौ भन्ने मात्र गर्छ तर यी सबै कुरा कुरा मात्र रहन्छ । श्रमिकलाई भने सरकारले मात्र होइन मानिस विदेश पठाएरै पैसा कमाउनेहरूले सजिलै निर्यात गरिरहेका छन् । यसो हुनुमा श्रमिकको दोष देख्दिन म । तर के गर्नु अवस्था नै यस्तो छ । 

महँगीले आकाश छुँदै गर्दा शिक्षा र स्वास्थ्यको पहुँच सामान्य श्रमिकका छोरा छोरी वञ्चित हुन परेको छ । बालबच्चाको भविष्यका लागि भए पनि युवाहरू परदेश लाग्न बाध्य छन् । यो अवस्था रोक्न न सरकारसँग कुनै नीति छ न त योजना । यहाँ त उल्टो एजेण्टबाट हामीलाई विदेश पठाए बापत कमिसन खानेहरू छन् भन्ने सुन्दा दिक्क लाग्छ । 

सरकारको एउटै उद्देश्य रेमिटेन्स छ । जुन श्रमिकको तातो पसिनाबाट  निस्किएको छ । यस्तो अवस्थामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पनि श्रमिक बोक्ने विमानस्थलको रूपमा लिनु दुर्भाग्य नै हो । दोस्रो विमानस्थल खुल्दा खोइ त परदेशी श्रमिकलाई नयाँ सुविधा ? न रेमिटेन्स गर्दा सरकारले श्रमिकलाई फाइदा हुने कुनै नीति लिएको छ, न विमानस्थल सञ्चालन हुँदा । यस्तो त भएन नि सरकार । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई, पर्यटक आवागमन केन्द्र विन्दु बनाउन सके श्रमिकका छोरा छोरी नेपालमै केही गर्ने वातावरण बन्थ्यो कि ?

गौतमबुद्धको सन्देशबाट शान्ति फैलिए जस्तै विमानस्थलको  माध्यमबाट यस क्षेत्रको आर्थिक विकास हुने थियो कि ।  

यसरी हेर्दा श्रमिकको मन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँग दोहोरो रूपमा जोडिएको छ । एउटा नेपालबाट श्रमको लागि परदेश उड्दा सहज उडान र अर्को स्वदेश फर्कँदा देश विकासको लागि विमानस्थलको सदुपयोग र समग्र विकास ।

अन्तिम अपडेट: कात्तिक ६, २०७९

तपाईको प्रतिक्रिया