सुक्खा पहिरोका कारण खाँदबारी–किमाथाङ्का सडक एक महिनादेखि बन्द

 जेठ १४, २०७९ शनिबार १३:१८:५८ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा - सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि किमाथाङ्का जाने सडक एक महिनादेखि बन्द भएको छ । भोटखोला गाउँपालिकाको किमाथाङ्का जाने सडक बन्द हुँदा स्थानीय नागरिक मारमा परेका छन् ।

मकालु गाउँपालिका–३ समाटारमा सुक्खा पहिरो जाँदा खाँदबारी–किमाथाङ्का अन्तर्गतको कोसी–ल्हासा राजमार्ग बन्द भएको हो । समाटारमा सडकमाथिबाट लगातार रूपमा सुक्खा पहिरो झरिरहेको छ। सडकमाथिको भागको जमिन नै चिरिएकाले झन् डरमर्दो भएको स्थानीयले बताएका छन् । भोटखोला गाउँपालिका–४ मा रहेकाे वरुण नदीमा रहेको अस्थायी पुलसमेत बाढीले बगाएको छ।

वरुण नदीको अस्थायी पुल बाढीले बगाएपछि गाडी त्यहाँभन्दा माथि जान नसकेको स्थानीय सुवास दर्जीले बताउनुभयो । हिउँदमा खाँदबारीदेखि ढुवानी गर्ने गाडीहरू भोटखोलाको च्याम्ताङसम्म पुग्थे । खाँदबारीदेखि भोटखोला आवातजावात गर्ने मुख्य सडक खण्ड नै बन्द भएपछि जनजीवन कष्टकर बनेको छ। सुक्खा पहिरोका कारण अहिले समाटारसम्म मात्रै यातायात सञ्चालनमा छ।

सुक्खा पहिरो गएको समाटारको दुवैतर्फ पहिरो पन्छाउन एक्स्काभेटर तयारी अवस्थामा राखिएको र काम भइरहेको उत्तरदक्षिण कोसी सडक आयोजना कार्यालयका प्रमुख इन्जिनियर दिपेश रजकले बताउनुभयो । उहाँले दुवैतर्फ एक्स्काभेटर र जनशक्ति तयारी अवस्थामा रहे पनि निरन्तर सुक्खा पहिरो झरिरहेकाले ढिला भएको बताउनुभयो । ‘सडकको माथिबाट नै जमिन चिरिएको छ। आज पहिरो पन्छायो फेरि राति पहिरो झरिहाल्छ। त्यसैले समस्या भइरहेको छ,’ प्रमुख रजकले भन्नुभयो ।

पालिका तहको चुनावभन्दा अघिदेखि नै सडक बन्द भएकाले चुनाव गराउनसमेत कर्मचारी, सेना, प्रहरी र म्यादी पैदल गएर फर्किएका छन्। समाटारको सुक्खा पहिरोको दीर्घकालीन समाधान गर्नुपर्ने भन्दै स्थानीयहरूले सरोकारवाला निकायले चासो नदेखाएको आरोप लगाउँदै आएका छन् । 

राष्ट्रिय गौरवको जोगमुनी—किमाथाङ्का सडक निर्माणाधीन अवस्थामा नै रहेको छ । किमाथाङ्का नाका खोल्ने यो मुख्य सडक खण्ड हो। अब किमाथाङ्का नाका खोल्न करिब १४ किलाेमिटर सडक बाँकी रहेको छ। खाँदबारी–किमाथाङ्का १ सय ६२ किलाेमिटर रहेको छ। तीमध्ये ९० किलाेमिटर वरुण नदीसम्ममा हिउँदबर्खा यातायात सञ्चालनमा रहेको थियो।

अन्तिम अपडेट: बैशाख ७, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया