नेपाली क्रिकेट टोली अमेरिका प्रस्थान : ब्याटिङ पक्षले जिताउनेमा सन्दीप आशावादी

 जेठ १४, २०७९ शनिबार १६:४४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अमेरिकामा आयोजना हुन लागेको आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृंखलाका लागि नेपाली टोलीलाई शनिबार बिदाइ गरिएको छ । टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराज, क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगाएतको टोलीले बिदाइ गरेको हो ।

बिदाइ कार्यक्रममा बोल्दै नेपाली टोलीका कप्तान सन्दीप लामिछानले तयारी राम्रो भएकाले नतिजा पनि राम्रो आउने विश्वास व्यक्त गर्नु भयो । धेरै खेल खेल्न बाँकी रहेकाले नेपाली टोलीलाई अर्को चरण पुग्नका लागि पनि शृखंला निकै महत्वपूर्ण रहेको बताउनु भयो । कप्तान लामिछानेले ब्याटिङ पक्षमा सुधार भएको र अमेरिका भ्रमणमा ब्याटिङ पक्षले जिताउनेमा आफू आशवादी रहेको बताउनु भयो ।

याे भ्रमण एक दिवसीय मान्यता मात्र नभएर क्वालिफायर राउन्ड पनि भएकाे भन्दै अघिल्लो चरणमा पुग्नका लागि चुनौतीहरु भएकाे र त्यसकाे सामना गर्न आफूहरु तयार भएकाे पनि लामिछानेले बताए ।

पहिलो पटक  शृंखलाका लागि नेपाली टोली अमेरिका भ्रमण गर्न लागेको हो । नेपालले अमेरिका भ्रमण गर्दा आयोजक अमेरिका र ओमानसँग त्रिकोणात्मक शृंखला खेल्नेछ । शृंखला पूर्व नेपाली टोली अमेरिकामा त्यहाँका दुई क्लबसँग अभ्यास खेल खेल्ने तालिका समेत रहेको छ । नेपाली टोलीलाई सम्हालेका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले नेपाली टोलीकाे तयारी राम्रो भएको सुखद नतिजा निकाल्नमा आफू आशावादी रहेको प्रतिक्रिया दिए ।

लिग–२ शृंखला अन्तर्गत नेपालले पहिलो खेल ओमानसँग जुन नौ तारिखमा खेल्नेछ । त्यसपछि जुन ११ मा नेपाली टिमले अमेरिकासँग खेल्नेछ भने जुन १४ मा ओमानसँग दोस्रो खेल खेल्ने तालिका रहेको छ । यस्तै जुन १५ मा अमेरिकासँग दोस्रो खेल्ने छ ।

आईसीसी विश्वकप लिग–२ प्रतिस्पर्धा गरिरहेका ७ टिमले ३६ वटा म्याच खेल्नु पर्छ । अहिलेसम्म ३२ म्याच खेलेको ओमानले १९ खेलमा जित र १ खेलमा बराबरी गर्दा १ खेल भने नतिजा विहीन बनेको थियो । ओमान ४० अंकसहित शीर्ष स्थानमा रहेको छ । यसैगरी स्कटल्याण्ड २४ अंकसहित दोस्रो स्थानमा रहँदा यूएई २२ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

१२ खेल खेलेको नेपाल अहिले छैटौं स्थानमा छ । पपुवा न्युगिनीले २० खेलमा प्रतिस्पर्धा गर्दा एक मात्र जित निकाल्दै २ अंक जोडेर तालिकाको पुुछारमा छ । अमेरिका पाँचौं स्थानमा छ भने नामिविया चौथो स्थानमा रहेको छ । ७ मध्ये शीर्ष ३ मा पर्ने टिमले अर्को वर्ष हुने विश्वकप क्रिकेटको छनोटका लागि स्थान बनाउने छन ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया