त्रिभुवन पार्ककाे जग्गा कम मूल्यमा भाडामा दिने विषय अध्ययन गर्न समिति गठन

 जेठ १६, २०७९ सोमबार २०:२०:३३ | रासस
unn.prixa.net

काठमाण्डाै – वाग्मती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले त्रिभुवन पार्कको ५० रोपनी जग्गा न्यून मूल्यमा भाडामा दिएको विषयको छानबिन गर्न समिति गठन गरेको छ ।

मन्त्री दीपेन्द्र श्रेष्ठले शुक्रवार मन्त्रिस्तरीय निर्णय गरी प्रदेश सरकारको कानुन मन्त्रालयका सचिव विनोद भट्टराईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्नुभएको हो । समितिमा प्रदेशको भूमि व्यवस्था तथा संस्कृति मन्त्रालयका प्रतिनिधि पनि सदस्य राखिएको उहाँले जानकारी दिनुभयो ।

पार्कको एक सय ६६ रोपनी जग्गामध्ये ५० रोपनी जग्गा मासिक प्रतिरोपनी नौ हजार एक सय ५० रुपैयाँ पाउने गरी फन पार्क निर्माणका लागि निजी कम्पनीलाई दिएको पाइएको थियो । वार्षिक ५४ लाख रुपैयाँमात्र आउने गरी २० वर्षका लागि सम्झौता गरिएको यो घटनाको छानबिन समिति गठन गरी सत्य/तथ्य बाहिर ल्याउन लागिएको हो । मन्त्रिपरिषद्को २०७५ को निर्णयअनुसार त्रिभुवन पार्क वाग्मती प्रदेश सरकारले हेर्ने गरी तोकिएको थियो ।

सरकारी जग्गा कम मूल्यमा भाडामा लगाएको घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न मन्त्रालयले निरन्तर काम गर्ने भएको छ । त्रिभुवन पार्क स्मारक समितिले याे जग्गा एक्सेलसियर इन्फरमेसन टेक्नोलोजी एन्ड ट्रेड कन्सर्टलाई अवैध प्रक्रियाबाट भाडामा दिएको जनाइएको छ ।

पार्कको मन्त्री श्रेष्ठ, प्रदेश संस्कृति मन्त्रालयका सचिव मदन कोइराला र आयोजना प्रमुख विष्णु भण्डारीले गएकाे हप्ता अवलोकन गर्नुभएको थियो । सस्तो दरमा जग्गा भाडामा लिएको कम्पनीले पार्क क्षेत्रमा व्यवसाय सञ्चालन गरेको अवलोकनका क्रममा भेटिएको थियो । छानबिन समिति संयोजक भट्टराई शुक्रवार पत्र पाएकाले केही दिनमै कागजात मगाएर यस विषयका बारेमा अध्ययन गरिने बताउनुहुन्छ ।

छानबिन समितिले त्रिभुवन पार्क गइ स्थलगतरूपमा समेत अध्ययन गर्ने जनाएको छ । चन्द्रागिरि नगरपालिकामा पर्ने पार्क स्थानीय सरकारलाई व्यवस्थापन गर्न नदिइ प्रदेश सरकारलाई दिने निर्णय भएका सम्बन्धमा पनि छानबिन गर्न स्थानीयवासीले माग गरेका छन् । 

विसं २०७२ मै कम मूल्यमा निजी कम्पनीलाई थानकोट पार्कको ५० रोपनी जग्गा भाडामा दिइएको जनाइए पनि यससम्बन्धी कागजात अहिलेसम्म नपाइएको छानबिन समितिले जनाएको छ ।

राजधानीवासी हप्ता बिदा मनाउन, पारिवारिक वनभोज एवम् पुनर्ताजगीका लागि जाने त्रिभुवन पार्क निजी कम्पनीलाई कम मूल्यमा भाडामा दिएपछि घुम्ने स्थान पनि अभाव हुने भएको छ । राजधानीमा विभिन्न पेसा एवम् व्यवसाय गरेर बस्नेको सङ्ख्या बढेसँगै खुला स्थल एवम् उद्यानको माग पनि बढेको छ । 

अन्तिम अपडेट: असोज १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया