उल्टै बिरामी बनाउने सरकारी अस्पतालका शौचालय !

 जेठ २५, २०७९ बुधबार १०:४६:५४ | महेश ज्ञवाली
unn.prixa.net

लमजुङ मर्स्याङ्दीका चन्द्रमणि गुरुङ काठमाण्डौ महाराजगञ्जको शिक्षण अस्पतालमा श्रीमतीको उपचार गर्न आएको ७ दिन भयो ।

पालो कुरेर बस्ने ठाउँ नजिकै शौचालय छ । शौचालयबाट निस्केको दुर्गन्धले आफैँ बिरामी भइन्छ कि जस्तो गराउँछ । तीन वर्ष पहिले त अलि राम्रो र सफा थियो । अहिले धेरै नै फाेहर भएछ ।  विभिन्न विभागको भवनभित्र रहेका शौचालय सजिलै नदेखिने ठाउँमा भएकाले कम फाेहर छन् । तर जुन ठाउँमा  मानिसको भिड लाग्छ, त्यो ठाउँका शौचालय पसि सक्नु छैन ।

महाराजगञ्ज शिक्षण अस्पतालकाे शाैचालय

शौचालयकै अगाडि बाल रोग विशेषज्ञ विभाग छ । हिँड्न र बिरामी ओहोरदोहोर गराउन शौचालय अगाडिकै बाटो प्रयोग गर्नु पर्छ ।  आफू पनि बाध्य भएर त्यही शौचालय प्रयोग गर्नु पर्छ । भित्र छिरेपछि त झन् बिजोग छ । ढोका राम्रो छैन, भित्र पसेको र बसेको बाहिरैबाट देखिन्छ । पिसाब बग्ने पाइप थुनिएको छ । भित्तामा खैनी, पान, गुट्का थुकेर दागै दाग छ । हात धुने ठाउँमा साबुन त परै जाओस्, पानी पनि छैन । शौचालय प्रयोग गर्नेहरु पनि उस्तै, दिसा पिसाब गरेपछि कसैले पानी हाल्दैनन् । 

अरुलाई सफासुग्घरमा ध्यान दिनुपर्छ भन्ने डाक्टर दिनमा सय चोटी शौचालय अगाडिकै बाटो हिँड्छन् । तर उनीहरु यति व्यस्त हुन्छन् कि शैचालयको अवस्था बुझ्ने उनीहरुलाई फुर्सद नै हुँदैन । सफा गर्नेहरुहरुले पनि त्यति ध्यान दिँदैनन् ।

‘यहाँ न अस्पताल आउनेले ध्यान दिन्छन्, न प्रशासनलाई कुनै वास्ता छ । अस्पतालको शौचालय राम्रो भए त सबै यहीँ उपचार गर्न आउँथे । अस्पताल, डाक्टर र अन्य कर्मचारीको शोभा  बढ्थ्यो । अन्तर्राष्ट्रिय स्तरमै चर्चा कमाउँथ्यो । सरसफाइको कसैलाई कुनै मतलब छैन’ चन्द्रमणि गुरुङले दुखेसो पोख्नुभयो ।

सिन्धुपाल्चोक ठोकर्पाकी कृष्ण कुमारी भण्डारी पनि स्वास्थ्य परीक्षण गर्न वीर अस्पताल आउनुभएको छ  । उहाँ अस्पताल धाउन थालेको दुई दिन भयो । श्रीमान् पनि सँगै हुनुहुन्छ । यसै त अस्पतालको सेवा सुस्त छ, शौचालय गइसक्नु छैन । कुनै शौचालयमा त आधाभन्दा बढी त भित्तो नै छैन । हेर्दा अँध्यारो, बीचमा पाइप र अलि पछाडि पानी रसाइरहेको अर्को भित्तो । 

वीर अस्पतालकाे शाैचालय

वीरका शौचालय बाल तथा अपाङ्ग मैत्री छैनन् । कुनै ठाउँमा त महिला पुरुषको शौचालय छुट्याइएको पनि छैन । भित्र पानी थाप्ने भाँडो नै छैन । भुइँभरी लेउ लागेको छ । सफा गर्नु पर्यो भन्दा कर्मचारीले उल्टै गाली गर्छन् । कृष्ण कुमारीलाई पनि सफा शौचालय चाहिने भए अरु अस्पताल गए भइहाल्यो नि भनेर एउटी महिला कर्मचारिले गाली गरिन् ।

‘सबैको साझा अस्पताल, सबैले एकैसरह कर तिरेर बनाएको आफ्नै अस्पताल सम्झेर उपचार गर्न आएकी हुँ । तर यहाँ आउँदा आफैँ हेपिनु पर्छ ।  अन्त कहाँ जानु म ?’ उहाँले भन्नुभयो ।

ललितपुरको पाटन अस्पतालभित्र रहेका शौचालयको अवस्था अलि सामान्य भए पनि मूलढोका नजिकै रहेको शौचालयको समस्या चाहिँ उस्तै छ । शौचालयभित्र एक जना युवाले चुरोटको सर्को तान्दै थिए । भुइँभरी पानी नै पानी जम्मा भएको छ  । चिप्लेर लडिन्छ कि भन्ने डर लाग्छ । हात धुने बेसिन पनि तारले अड्याएर राखिएको छ ।

पाटन अस्पतालकाे शाैचालय

‘चुरोटको टुक्रा र खैनीको कागज जताततै देखिन्छ । कसलाई गुनासो गरौँ ? बिरामी भेट्न आएको मान्छे यहाँ लडेर घाइते भएर आफैँ अस्पताल भर्ना हुनु परे के गर्ने ? पानी हो कि पिसाब हो कुन्नि ?  खोला तरे जसरी हिँड्नु पर्छ । भारत जाँदा देखेको रेलको डिब्बा जस्तै फाेहर रै'छ’ भन्नुभयाे पाटन अस्पतालमा बिरामी भेट्न पुग्नुभएका अर्घाखाँची सन्धिखर्कका रमेश भुषालले भन्नुभयो ।

धेरै सरकारी अस्पतालका शौचालयको हालत पहिलेदेखि नै यस्तै छ । मानिसको भिडभाड हुने ठाउँका शौचालय अलि बढी फाेहर छन् । शौचालय सफा बनाउन केही प्रयास पनि भएका छन् । तर सफल हुन सकेको छैन । अस्पतालमा काम परेर आउने भन्दा पनि बाहिरबाट आएर प्रयोग गर्नेहरु धेरै छन् । बाहिरबाट शौचालय प्रयोग गर्न आउनेलाई नियन्त्रण गर्न सके पनि आधा समस्या कम हुन्थ्यो । शौचालय प्रयोग गर्नेहरुले पनि फाेहर गरेर त्यसै छाडिदिन्छन् । भित्र राखिएका सामान हराउने, भाँचिदिने र मनपरि ढङ्गले फालिदिने समस्या पनि उस्तै छ । 

बिरामीको उपचार हुने ठाउँ अस्पताल सफा र स्वच्छ हुनुपर्छ । बिरामीको जाँच गर्ने कोठादेखि शौचालयसम्म फाेहर हुनु हुँदैन । तर धेरैजसो सरकारी अस्पतालका शौचालय फाेहर र अव्यवस्थित छन् । अस्पताल सञ्चालकले पनि प्रभावकारी रुपमा सफाइ अभियान चलाउन सकेका छैनन् ।

अस्पतालले पनि पटकपटक सफा गर्ने र सम्भव भएसम्म प्रत्येक  शौचालय अगाडि एकजना गार्ड राख्ने योजना बनाएको छ । ‘आफूहरुले सरसफाइमा ध्यान दिने र  यसका लागि शौचालय प्रयोग गर्नेले पनि साथ दिनुपर्छ’ कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल वीरअस्पतालका उपनिर्देशक प्राध्यापक डाक्टर अनुपमा कार्कीले भन्नुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

महेश ज्ञवाली

महेश ज्ञवाली उज्यालाेमा कार्यरत हुनुहुन्छ । 

1 Comments

  • Toshal Kumar Dahal

    June 9, 2022, 11:10 a.m.

    कुरा सही छ , झापाको मेची अंचल अस्पतालको हालत टिचिंग र पाटन अस्पतालको भन्दा २०० प्रतिशत गएगुज्रेको छ /आफ्नो सम्वाददातालाई हेर्न लगाएर यथार्थ कुरा प्रकाशित गरिदिनुहुन अनुरोध गर्दछु /

  •  0 Reply

तपाईको प्रतिक्रिया