रुकुम पश्चिमकाे मुसीकोटमा खानेपानीको अभाव

 जेठ २६, २०७९ बिहिबार ८:३७:४० | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - दुई हप्तादेखि रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसीकोटमा खानेपानीको अभाव भएको छ । घरमा जोडिएको धारामा पानीको आपूर्ति कम मात्रामा हुँदा स्थानीयवासीले हैरानी खेप्नु परेको छ । 

मुसीकोटको खलङ्गा बजार, पातुखोला, बागबजार, सेरीगाउँ, ढिकीच्याउँ लगायतका क्षेत्रमा पानीको आपूर्ति नहुँदा नागरिकले समस्या झेल्दै आएका छन् । घरमा जोडिएको धारामा पानी आउन छोडेको भन्दै यहाँका नागरिकले गुनासो गरेका छन् । स्थानीय गोकर्ण खड्काले आधारभूत आवश्यकताको रुपमा रहेको खानेपानी नागरिकले सहज रुपले पाउन नसकेको बताउनुभयो ।

उहाँले केहीदिनयता पानीको मुहानमै पुगेर पानी बोक्नुपर्ने बाध्यता रहेको बताउनुभयो । पानीको सही व्यवस्थापन र समान वितरण नहुँदा कतिपय धाराहरुमा पानी निरन्तर बगिरहने र कतिपय धाराहरुमा पानी नै नआउने समस्या रहेको छ । 

त्रिभुवन जनता माध्यमिक विद्यायलमा अध्ययनरत छात्रा जमुना रावलले दिनमा एकैछिन मात्रा धारामा पानी आउने गरेको बताउनुभयो । ‘पालो कुर्दाकुर्दै धारा सुकिहाल्छ’, रावलले भन्नुभयो, ‘पिउनलाई पनि पानी पुगेको छैन, नुहाउन र कपडा धुन त झन् समस्या छ ।’ 

सरोकारवाला निकायले दुई हप्तासम्म पनि पानीको आपूर्तिमा ध्यान नदिएको स्थानीयकाे छ । होटेल व्यवसायी डम्मर केसीले पानीको अभाव हुन थालेको दुई हप्ता हुँदा पनि समस्या समाधानतर्फ कोही नलागेको जनाउनुभयो । उहाँले सुक्खायाम नलाग्दै यसरी पानी पाउनबाट वञ्चित भएको बताउनुभयो ।

मुसीकोटमा पानी वितरणको जिम्मा लिएको मुसीकोट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष टोपराम नेपालीले मुहानबाट नै पानी कम आएकाले समस्या भएको बताउनुभयो । उहाँले समितिका पदाधिकारी र कर्मचारीहरु पानीको मुहानमै पुगेर समस्या समाधानमा केन्द्रित भएको उल्लेख गर्नुभयो । साँखको पानाखोला मुहानबाट मात्र पानी आइरहेको तर अन्य चार ओटा मुहानबाट पानी कम आएकोले खलङ्गा र आसपासमा पानीको अभाव हुन पुगेको अध्यक्ष नेपालीले बताउनुभयो ।

टिमुर खोला, सिजडी खोला, घ्यू खोला र टुनीबोट मुहानबाट पानी कम आएकोले समस्या पत्ता लगाएर समाधान गर्न लागेको उहाँले स्पष्ट पार्नुभयो । पानीको मुहानहरुमै पुगेर काम गरिरहेकोले एक/दुई दिनमै पानी अभावको समस्या समाधान हुने उहाँले बताउनुभयो।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया