आफ्नो अन्तिम खेलमा नेपालले मलेसियालाई हरायो

 जेठ २६, २०७९ बिहीबार १३:५६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी १९ वर्षमुनि (यू–१९) काे महिला टी–२० विश्व कप एसिया छनोटअन्तर्गत मलेसियाविरुद्धको आफ्नो अन्तिम खेलमा नेपाल विजयी भएकाे छ । 

मलेसियाको यूकेएम ओभल क्रिकेट मैदानमा आज बिहीवार भएको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई २५ रनले हराएकाे हो । यस खेलसँगै नेपालको विश्व कप खेल्ने सपना सकिएको छ । 

नेपाल छनोटमा ६ अङ्क जोड्दै तेस्रो स्थानमा रह्यो । नेपालले पाँच खेलमा तीन जित र दुई हार बेहोरेको थियो । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खेलमा संयुक्त अरब इमिरेट्सँग (यूएई) १० विकेटले पराजित भएको थियो । 

त्यस्तै तेस्रो खेलमा नेपालले भुटानलाई चार विकेटले हराएको थियो भने चौथो खेलमा नेपाल थाइल्यान्डसँग ४९ रनले पराजित भएको थियो । यस हारसँगै मलेसिया पाँच खेलमा चार अङ्क जोडेर चौथो स्थानमा रह्यो । छनोटमा यूएई आठ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । थाइल्यान्ड आठ अङ्क जोडेर दोस्रो स्थानमा छ । आज हुने थाइल्यान्ड र यूएईबीचको खेलले विश्व कपमा पुग्ने टोलीको निर्धारण गर्नेछ । 

आजको खेलमा नेपालले दिएको ८७ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ६१ रनमा समेटियो । मलेसियाका लागि एल्सा हन्टरले सर्वाधिक २८ रन जोडिन् । त्यसबाहेक अन्य ब्याटरले उत्कृष्ट खेल प्रदर्शन गर्न सकेनन् । नेपालकी कप्तान कृतिका मरासिनीले दुई विकेट लिइन् भने मनिषाकुमारी उपाध्यायले एक विकेट लिइन् ।
     
त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८६ रन बनाएको थियो । नेपालका लागि अञ्जली विश्वकर्माले सर्वाधिक ३३ रनको योगदान दिइन् भने आश्मा पुलामी मगरले २६ रन जोडिन् । त्यसैगरी सृष्टि जैशी, सानु राजवंशी र अनु कठायतले समान तीन/तीन रन जोड्दा कृतिका मरासिनीले एक रन जोडिन् । मलेसियाकी नुर सामेदले दुई विकेट लिइन् । 

छनोटमा नेपालसहित, मलेसिया, यूएई, थाइल्यान्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले आउँदाे वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने यू–१९ को विश्व कप खेल्नेछ । 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया