रुकुम पूर्वकाे सिस्ने गाउँपालिकामा नेपाल टेलिकमकाे टावर सञ्चालन

 जेठ २८, २०७९ शनिबार १५:६:५९ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व - रुकुम पूर्वको सिस्ने गाउँपालिका-१ ठूलासिस्ने गाउँमा बनेको नेपाल टेलिकमको टावर सञ्चालनमा आएको छ । टावर सञ्चालनमा आएपछि सिस्ने टेलिफोनको सम्पर्कमा जोडिएको छ ।

ठूलासिस्ने लेकमा बनाइएको टावर सञ्चालनमा आएपछि स्थानीयवासीमा खुसीयाली छाएको छ । साविकको सिस्ने गाविस रहेको यो वडामा यसअघिसम्म फोन सम्पर्क हुँदैन्थ्यो ।

गएकाे शनिवारदेखि टावर सञ्चालनमा आएपछि सहज भएको पाखापानीका तेजेन्द्र बीसीले जानकारी दिनुभयो । टावर सञ्चालनमा आएपछि सबैतिर फोन लागिरहेको उहाँले बताउनुभयो ।  फोनको टावर बनेर पनि सञ्चालनमा नआउँदा फोन गर्न नै अर्को वडा जानुपर्ने बाध्यता अब हटेको छ । 

टावरले अहिले वडाका सबै ठाउँमा काम गर्न थालेको छ । वडाध्यक्ष मानबहादुर बुढाले वडाका सबै घरधुरीमा सहजै फोनकाे पहुँच पुगेको जानकारी दिनुभयो । वडामा पाँच सय ४१ घरधुरी छन् । सबैमा फोन चलेको वडाध्यक्ष बुढाले बताउनुभयो । 

टावरबाट फोर जी सेवा समेत सञ्चालनमा भएको छ । यसले पनि नागरिकलाई सजिलो भएको छ । दुर सञ्चार कार्यालय रुकमु पूर्वका प्रमुख चन्दन यादवले ढिलै भए पनि सिस्नेको टावर सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

लामो समयदेखिको गुनासो सम्बोधन गरिएको उहाँको भनाइ छ । टावर बनेका तर सञ्चालनमा आउन नसकेका जिल्लाका अरु टावर पनि अब छिट्टै सञ्चालनमा आउने यादवले बताउनुभयो । 

यसअघि पुथाउत्तरगङ्गा गाउँपालिका-४ अर्जलमा बनाएको टावर पनि सञ्चालनमा आएको थियो । त्यही गाउँपालिका-१३ को विर्गुममा रहेको टावरबाट पनि नेपाल टेलिकमले फोर जी सेवा सञ्चालन गराएको जानकारी दिएको छ । यसअघि  टावरबाट फोन सम्पर्क मात्रै हुने गरेकामा अब इन्टरनेट चलाउन पनि सजिलो भएको छ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया