महिला क्रिकेट कप्तान रुविना क्षेत्री भन्छिन् : 'उपाधिसहित फर्किन्छाैँ'

 जेठ २८, २०७९ शनिबार १७:२५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कीर्तिपुरमा रहेकाे त्रिभुवन विश्व विद्यालयको मैदानमा नेपाली राष्ट्रिय महिला टोलीले मलेसियामा आयोजना हुने एसीसी महिला टी–२० च्याम्पियनसिपको तयारी गरिरहेको छ । 

एसिया कप छनोट हुने लक्ष्यकासाथ टोलीले च्याम्पियनसिपको तयारीलाई तीव्रता दिइरहेको हो । पछिल्लो पटक युगान्डासँगको खेलमा देखिएको फिटनेस र फिल्डिङको समस्यालाई सुधार गरेको भन्दै प्रशिक्षक जगत टमाटाले टोली च्याम्पियन भएर स्वदेश फर्किने बताए । 

मलेसियामा आयोजना हुने एसीसी महिला टी–२० च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न अन्तिम चरणको बन्द प्रशिक्षणका लागि १९ सदस्यीय टोलीले अभ्यास गरिरहेको छ । पछिल्ला पटक सम्पन्न युगान्डासँगको श्रृङ्खलामा भएका कमी कमजोरी सुधार गर्न टोली तल्लिन छ । त्यही श्रृङ्खलापछि टोलीले मुख्यतया फिटनेस र फिल्डिङमा वर्कआउट गरिरहेको छ ।

मुख्य प्रशिक्षक टमाटाले मौसमकाे चुनौती भए पनि अभ्यासलाई निरन्तरता दिइरहेको बताए । उनले फिटनेस र फिल्डिङमा केन्द्रित रहेर च्याम्पियनसिपका लागि कडा मिहनेत गरिरहेको बताए। 

एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा हुन लागेको प्रतियोगिता जुन १७ देखि २५ सम्म मलेसियामा हुँदैछ । १० टोलीले सहभागिता जनाउने प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, बहराइन, भुटान, हङकङ, कुवेत, सिङ्गापुर, ओमान, कतार र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् । आयोजकले सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।जसअन्तर्गत नेपाल समूह 'बी'मा रहेको छ । नेपाल सम्मिलित समूहमा बहराइन, भुटान, हङकङ र कुवेत रहेका छन् । यस्तै समूह 'ए' मा मलेसिया, ओमान, कतार, सिङ्गापुर र यूएई समावेश छन्। 

नेपाली राष्ट्रिय महिला क्रिकेट टाेलीकी कप्ता रुविना क्षेत्रीले च्याम्पियनसिप नेपाली टोलीका लागि चुनौतीपूर्ण भएको बताइन् । उनले नेपाली महिला टोली ट्रफी लिएर स्वदेश फर्किने प्रतिबद्धता जनाइन् । त्यसका लागि खेलाडीले यसअघि गरेको र कमी कमजोरी सुधार गरेको पनि उनले बताइन्  ।

समूहको प्रतिस्पर्धामा हरेक टोलीले एक आपसमा प्रतिस्पर्धा गर्नेछन् । समूह चरणको प्रतिस्पर्धापछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनलमा प्रवेश गरेका दुई टोली अक्टोवरमा आयोजना हुने महिला टी–२० एसिया कपमा छनोट हुनेछन् ।

प्रतिस्पर्धामा नेपालले जुन १७ मा भुटानविरुद्ध खेल्दै प्रतियोगिताको आरम्भ हुनेछ । यस्तै नेपालले जुन १८ मा किनरारा स्टेडियममा कुवेतसँग र तेस्रो खेल जुन २० मा बहराइनविरुद्ध खेल्नेछ । यस्तै अन्तिम खेल नेपालले जुन २१ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया