रुकुमकोटमा बिजुली नआउँदा खानेपानी पनि आउँदैन

 जेठ २९, २०७९ आइतबार १५:५९:४२ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – रुकुम पूर्वको जिल्ला सदरमुकाम रुकुमकोटमा खानेपानीको अभाव भएको छ । जिल्लाको मुख्य केन्द्रमै खानेपानीको अभाव हुँदा स्थानीयवासीको दैनिकी कष्टकर बनेको छ । सिस्ने गाउँपालिका ६ सहित अन्य वडामा खानेपानीको अभाव रहेको स्थानीयवासीले जनाएका छन् । रुकुमकोटको छिप्रीदह, चिउरेनी, आला र बाहुनडेराका झन्डै दुई सय घरधुरीले पानीको समस्या खेपिरहेका छन् ।

धारामा पानी नआउँदा दैनिक घरायसी कामकाज गर्न, पिउन, सरसफाइ गर्न समस्या हुने गरेको सिस्ने गाउँपालिका ५ छिप्रीदहका वसन्तकुमार श्रेष्ठले बताउनुभयो । धारामा पानी नझरेपछि लुस्फा धाराबाट पानी बोक्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । छिप्रीदहमै होटेल गर्दै आउनुभएका गोपाल सुनारले दैनिक २०÷२५ मिनेट मात्र धाराबाट पानी झर्ने गरेको बताउँदै त्यो पानीले भाँडा धुन, चर्पीमा प्रयोग गर्न र खाना पकाउन नपुग्दा सास्ती खेप्नुपरेको गुनासो गर्नुभयो ।

स्वास्थ्य संस्था र विद्यालयमा झन् समस्या

छिप्रीदहमै मेडिकल सञ्चालन गर्दै आउनुभएका प्रकाश नेपालीले पनि पानी अभावको कारण उपचारसँगै अन्य सरसफाइको काममा कठिनाइ भएको जनाउनुभयो । उहाँले मोटरसाइकलमा लुस्पाबाट पानी बोकेर प्रयोग गर्दै आएको बनाउनुभयो । मेडिकलमा पानीको अभावले अन्य सेवा प्रभावित रहेको उहाँको भनाइ छ । 

हिमशिखा बोर्डिङ स्कुलका सञ्चालक समितिका अध्यक्ष हरिकृष्ण गौतमले पानी अभावको कारण विद्यालयका शिक्षक, बालबालिकालाई चर्पी प्रयोग गर्न समस्या भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार विद्यार्थीले अहिले पिउने पानी घरबाटै बोतलमा भरेर ल्याउने गरेका छन् भने चर्पीका लागि बाहिर जानुपर्ने बाध्यता छ ।

बिजुली अनियमित हुँदा पानी आउँदैन

जिल्लामा बिजुली सेवा अनियमित हुँदा लुस्फा लिफ्ट आयोजनाको खानेपानी उपभोक्तासम्म पुग्न नसकेको बताइएको छ । हावाहुरी र पानी पर्नेबित्तिकै जिल्लामा बिजुली सेवा बन्द हुन्छ । बिजुलीकौ कारण यहाँका नागरिक पानीको समस्यासँग पनि जुध्न बाध्य छन् । 

लुस्फा लिफ्ट आयोजनाको पानी वितरण गरिरहेका उपसमितिका अध्यक्ष सुशील गौतमले बत्ती अनियमितताका कारण यो समस्या आएको बताउनुभयो । समितिले बत्ती नहुँदा विगतमा जेनेरेटरमार्फत पानी उपलब्ध गराउन कोसिस गरेको तर अहिले डिजलको मूल्य आकाशिएका कारण त्यो सेवा दिन नसकेको जनाएको छ । समितिका अध्यक्ष गौतमले बत्ती नहुँदा लिफ्ट नचल्ने र आकाशिएको मूल्यको डिजल किनेर जेनेरेटर चलाउने अवस्था नभएकाले पानीको समस्या भएको उल्लेख गर्नुभयो । अहिले मुस्किलले केही समय भए पनि जेनेरेटर चलाएर लिफ्टमार्फत पानी वितरण गरिरहेको उहाँको भनाइ छ । 

खानेपानीको समस्या समाधान गर्न पालिकाले ध्यान दिनुपर्ने स्थानीयवासीको भनाइ छ । रुकुमकोटमा २०४५ सालमा तत्कालीन राजा वीरेन्द्रले उद्घाटन गरेको ठाराखोला मुहानको खानेपानीले धानिरहेको थियो । रुकुमकोट जिल्ला सदरमुकामको रूपमा रहेपछि भएको विकास र बढ्दो बजारीकरणका कारण पुरानो खानेपानी आयोजनाले धान्न नसकेर लिफ्ट आयोजनाको निर्माण गरिएको थियो । गएको वर्ष असारबाट मात्र यस आयोजना सञ्चालनमा आएको हो । आयोजनाले अझै पूर्णता भने पाइसकेको छैन । आयोजनाको लागत अनुमान खर्च साढे तीन करोड रुपैयाँ हो । अहिले पनि यसै आयोजनाको विभिन्न ठाउँमा ट्याङ्की निर्माणको काम चलिरहेको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया