विश्व कप क्रिकेट लिग–२ अन्तर्गत एक दिवसीय श्रृङ्खलामा नेपालले ओमानलाई हरायो

 असार १, २०७९ बुधबार ६:४२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालले आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा ओमानलाई ७ विकेटले हराएको छ ।

अमेरिका भ्रमणमा रहेको नेपालको यो पहिलो जित हो । ओमानसँगको खेलमा जितका लागि १ सय ६४ रनको लक्ष्य पछ्याएको नेपालले ३३ ओभर १ बलमा ३ विकेट गुमाउँदै भेट्टायो ।

नेपालको जितमा आसिफ शेखले सर्वाधिक ६२ रनको अर्धशतकीय पारी खेले । त्यस्तै कुशल भुर्तेलले ५६ रन जोडे । त्यसअघि ह्युस्टनमा रहेकाे मुसा क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको ओमान ४६ ओभर ५ बलमा १ सय ६३ रनमा अल आउट भयो ।

ओमानका कप्तान जिशान मकसुदले सर्वाधिक ५२ रन बनाए । नेपालका करण केसीले ५ विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले ३ तथा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले १/१ विकेट लिए ।

एक दिवसीयमा करणले दोस्रो पटक पाँच विकेट लिएका हुन् । यसअघि गएको बिहीवार ओमानसँग भएको खेलमा करणले पाँच विकेट लिएका थिए । तर नेपाल १३ रनले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा नेपाल र अमेरिकाले बराबरी खेल्दै अङ्क बाँडेका थिए ।

नेपालले जितसँगै एक स्थान सुधार गरेको छ । नेपाल १५ खेलमा ७ मा जित, ७ मा हार र एक बराबरीसहित १५ अङ्ककासाथ पाँचौँ स्थानमा छ । अङ्क तालिकामा ओमान ४४ अङ्ककासाथ शीर्ष स्थानमा छ ।

स्कटल्यान्ड २८ अङ्कसहित दोस्रो, यूएई २६ अङ्ककासाथ तेस्रो, अमेरिका २१ अङ्ककासाथ चौथो स्थानमा छ । नामिबिया १४ अङ्ककासाथ छैटौँ पपुवा न्युगिनी २ अङ्ककासाथ पुछारमा छ । नेपालले आज घरेलु टोली अमेरिकासँग खेल्नेछ ।

तस्बिर : क्यान

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया