नेपाल र रसियाका खेलकुद मन्त्रीबीच भेटवार्ता

 असार १, २०७९ बुधबार १३:३७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रसिया भ्रमणमा रहनुभएका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । रसियन सरकारको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने भ्रमणका लागि रसिया पुग्नुभएका मन्त्री गहतराजले भ्रमणको दोस्रो दिन भासिलिभिचसँग भेटवार्ता गर्नुभएको हो ।

भेटवार्ताका क्रममा दुई देशीय हितको विषयमा छलफल भएको थियो । रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचले नेपाली खेलाडी तथा विद्यार्थीलाई खेल विज्ञान (Sports Science) पढ्न छात्रवृत्ति दिने, खेलाडी र प्रशिक्षकलाई तालिम दिने तथा दुई देशबीच मैत्रीपूर्ण खेल आयोजना गर्ने विषयमा रसिया इच्छुक रहेको बताउनुभएको थियो । साथै नेपालको खेलकुद क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको थियो । 

भेटमा बोल्दै मन्त्री गहतराजले नेपाल र रसियाबीचको ६६ वर्ष लामो कुटनीतिक सम्बन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसीमार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले खेललाई कुटनीतिको प्रमुख अङ्ग बनाउँदै आर्थिक, पर्यटन तथा अन्य विधासँग समाञ्जस्यता बढाउन आवश्यक रहेको उल्लेख गर्दै खेल पूर्वाधार र खेलका समग्र क्षेत्रमा रसियाले कायम गरेको आफ्नै विशिष्ट क्षमताको समेत प्रशंसा गर्नुभएको थियो । 

नेपालको खेलकुद क्षेत्रको विकासमा रसियाले देखाएको चासोप्रति कृतज्ञता व्यक्त गर्दै मन्त्री गहतराजले नेपालको उच्च पहाडी क्षेत्रमा खेल पूर्वाधार निर्माण, खेलाडी तथा प्रशिक्षकको क्षमता अभिवृद्धि, दुई देशबीच मैत्रीपूर्ण तथा प्रतिस्पर्धात्मक खेलहरूको आदानप्रदान तथा नेपाली खेलाडी र विद्यार्थीलाई छात्रवृत्ति सहयोगमा 'रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजना २०२२–२०२३' फलदायी हुनेमा विश्वास व्यक्त गर्नुभयो । आउँदा दिनमा यो कार्ययोजनालाई थप विस्तार गर्दै लग्नुपर्नेमा मन्त्री अथकले जोड दिनुभएको थियो । 

भेटकै क्रममा मन्त्री अथकले रसियाका खेलकुद मन्त्रीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणासमेत दिनुभएको छ ।  भेटमा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले अब नेपाल–रसिया सम्बन्ध खेल पर्यटन र खेल कुटनीतिमा समेत आधारित हुने बताउनुभएको थियो । 

यसैबीच नेपाली प्रतिनिधि मण्डलले रसियाका मार्शन आर्ट्स सङ्घका अध्यक्ष र अन्तर्राष्ट्रिय बक्सिङ सङ्घका अध्यक्षसँग पनि छलफल गरेको मन्त्रालयका सचिव रेग्मीले जानकारी दिनुभएको छ । छलफलमा अन्तर्राष्ट्रिय बक्सिङ सङ्घका अध्यक्ष उमार क्रेमलेभले नेपालको खेल पूर्वाधार, बक्सिङ एकेडेमी तथा उच्च पहाडी स्थानमा तालिम केन्द्र स्थापना गर्न रसियन सरकार सकारात्मक रहेको बताउनुभएको थियो । 

मन्त्रालयका सचिव डा. दामोदर रेग्मीसहित रुसको भ्रमणमा रहनुभएका मन्त्री गहतराज असार ३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया