चौथो गुरिल्ला म्याराथन सम्पन्न

 असार ४, २०७९ शनिबार ८:४४:७ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – रुकुम पूर्वमा चौथो गुरिल्ला म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । तत्कालीन माओवादीले २०५२ सालदेखि झन्डै १२ वर्षसम्म सञ्चालन गरेको सशस्त्र युद्धताका लडाकु अर्थात् ‘गुरिल्ला’ हिँडेको रुकुम पश्चिम र पूर्व तथा रोल्पाका पहाडी बाटोलाई ‘गुरिल्ला मार्ग’ को रूपमा विकास गर्ने उद्देश्यका साथ चार वर्ष अघिदेखि म्याराथन हुँदै आएको छ । 

शुक्रवार महतदेखि रोल्पासम्मको १० किलोमिटर र ६२ किलोमिटरको म्याराथन प्रतियोगिता सम्पन्न भएको आयोजक भूमे गाउँपालिका युवा विकास केन्द्रका संयोजक सुनिल रोकामगरले जानकारी दिनुभयो । युद्ध पर्यटनलाई विकास र विस्तार गर्न र जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित भूमे गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित प्रतियोगितामा १० किलोमिटरमा ३० जना र ६२ किलोमिटरमा ६९ जनाले प्रतिस्पर्धा गरेका थिए ।

केन्द्रका संयोजक रोकाका अनुसार १० किलोमिटरको प्रतियोगितातर्फ पुरुषमा रोल्पाका जीवन थापा मगर प्रथम हुनुभएको छ । उहाँले एक घण्टा दुई मिनेटमा निर्धारित दुरी पार गर्नुभएको थियो । रुकुम पूर्वका केशव बुढामगरले एक घण्टा चार मिनेटमा दुरी पार गर्दै दोस्रो स्थान हासिल गर्नुभएको छ भने रुकुम पूर्वकै सन्दीप बुढाले एक घण्टा ६ मिनेटमा निर्धारीत दुरी पार गर्दै तेस्रो स्थान हासिल गर्नुभएको छ । 

महिलातर्फको १० किलोमिटर प्रतियोगितामा एक घण्टा ४० मिनेटमा दुरी पार गर्दै रुकुम पूर्वकी सुनकुमारी सुनार प्रथम, एक घण्टा ५० मिनेटमा दुरी पार गर्दै रुकुम पूर्वकै प्रीया पुनमगर दोस्रो र दुई घण्टा नौ मिनेटमा दुरी पार गर्दै रुकुम पूर्वकै विनिता शेर्पाली तृतीय हुनुभएको छ ।

पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः दश हजार, ६ हजार र तीन हजार रुपैयाँ नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको युवा विकास केन्द्रका संयोजक रोकामगरले बताउनुभयो ।

यस्तै ६२ किलोमिटर दुरीको म्याराथन प्रतियोगितातर्फ पाँच घण्टा ५३ मिनेट दुई सेकेन्डमा दुरी पार गर्दै कर्णाली स्पोर्ट्स जुम्लाका दलबहादुर कुँवर प्रथम हुँदै ५० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ । निर्धारित दुरी ६ घण्टा २१ मिनेट ६ सेकेन्डमा पार गर्दै रुकुम पूर्वका हिमाल बुढामगर दोस्रो हुँदा ६ घण्टा ३५ मिनेट ५० सकेन्डमा दुरी पार गर्दै रुकुम पश्चिमका दुर्गा बुढा तेस्रो हुनुभएको छ । यस्तै ६ घण्टा ३५ मिनेट ५० सेकेन्डमा दुरी पार गर्दै सोलुखुम्बुका सुमन कुलुङ राई चौथो र ६ घण्टा ३६ मिनेट १९ सेकेन्डमा दुरी पार गर्दै रुकुम पूर्वका कमान बुढा पाँचौँ हुनुभएको छ । 

६२ किलोमिटरको महिलातर्फको प्रतियोगितामा ६ घण्टा ५६ मिनेट ४० सेकेन्डमा निर्धारित दुरी पार गर्दै कर्णाली स्पोर्ट्स क्लब जुम्लाकी मन्जु रावत प्रथम हुनुभएको छ । उहाँले ५० हजार रुपैयाँ हात पार्नुभएको छ । आठ घण्टा ३१ मिनेट ४० सकेन्डमा दुरी पार गर्दै सोलुखुम्बुकी अनिता राईले दोस्रो हुँदा आठ घण्टा २५ मिनेट एक सेकेन्डमा दुरी पार गर्दै रोल्पाकी अस्मिता विक तेस्रो हुनुभएको छ । आठ घण्टा ५८ मिनेट एक सेकेन्डमा दुरी पार गर्दै भोजपुरकी अनिता राई चौथो र नौ घण्टा ५८ मिनेट २१ सेकेन्डमा दुरी पुरा गरी रुकुम पूर्वकी अनिता बुढामगरले पाँचौँ हुनुभएको छ । पुरुष र महिलातर्फ दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुनेलाई क्रमशः ३० हजार, १५ हजार, आठ हजार र पाँच हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा दशौँ स्थानसम्मकालाई पनि नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।

१० किलोटिरको रुट महत हुँदै लाबाङ– धर्मशालाबाट पुनः महतसम्म थियो । ६२ किलोमिटर म्याराथनको रुट महतबाट सुरु भइ लाबाङ–छोर्वाङ–गल्च्योल–तिल्घा–ढङ्नै–जलजला–थबाङ–पोर्पोछेडा–मारिङ–ठूलो लेक हुँदै महतसम्म रहेको युवा विकास केन्द्रका संयोजक रोकाले बताउनुभयो । प्रतियोगितामा ११ जिल्लाबाट धावकहरू सहभागी भएका थिए । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया