अमेरिका भ्रमणको एजेन्डा जानकारी गराउन प्रधानमन्त्रीलाई संसदीय समितिको निर्देशन

 असार ५, २०७९ आइतबार १४:४६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई आसन्न अमेरिका भ्रमणको एजेन्डाबारे जानकारी गराउन निर्देशन दिएको छ । 

आज आइतवार सिंहदरबारमा बसेको समितिको बैठकले भ्रमणको मिति तय भएपछि एजेन्डाबारे जानकारी गराउन निर्देशन दिएको हो । समितिले आजको बैठकमा प्रधानमन्त्री देउवालाई पनि छलफलका लागि बोलाएको थियो । तर, उहाँ बैठकमा अनुपस्थित हुनुभयो । 

बैठकमा प्रधानमन्त्री अनुपस्थित भएकोमा ध्यानाकर्षण भएको समितिका सभापति पवित्रादेवी निरौलाले बताउनुभयो । उहाँले बैठकमा प्रधानमन्त्री देउवा नआएर संसदीय समितिलाई अपमान गरेको बताउनुभयो । 

आजको बैठकमा प्रधानमन्त्री देउवाको अनुपस्थितिलाई लिएर विवादसमेत भएको छ । प्रमुख विपक्षी दल नेकपा एमाले र सत्तापक्षकै माओवादी सांसदले प्रधानमन्त्री देउवाको आलोचना गरेपछि कांग्रेसका सांसदले भने बचाउ गरे । 

नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थिति ‘खेदजनक’ भएको बताउनुभएको छ । एसपीपीबारे प्रधानमन्त्री देउवाको जवाफ माग गरिएको तर, जवाफ दिन प्रधानमन्त्री अनुपस्थित हुनुले आशङ्का उब्जाएको उहाँको टिप्पणी छ । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले प्रधानमन्त्री देउवाको बचाउ गर्नुभएको छ । उहाँले देउवाको अनुपस्थितिलाई संसदीय समितिको अपमान भन्न नमिल्ने बताउनुभयो । भुसालले समितिले बोलाउँदा अनुपस्थित भएको विषयलाई समितिकै अपमानका रूपमा नलिन आग्रहसमेत गर्नुभएको छ । 

रक्षामन्त्रीसमेत रहनुभएका प्रधानमन्त्री देउवालाई अमेरिकासँगको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी), परराष्ट्र नीति कार्यान्वयन, अमेरिका भ्रमणबारे जानकारी दिन बोलाइएको थियो । गएको शुक्रवार समितिले नेपाली सेना र रक्षा मन्त्रालयलाई एसपीपीसम्बन्धी सम्पूर्ण कागजात बुझाउन निर्देशन दिएको थियो । अब ती कागजात आएपछि प्रधानमन्त्रीसहित पुनः छलफलमा बस्ने सभापति निरौलाले जानकारी दिनुभयो । अस्तिको बैठकमा परराष्ट्र मन्त्री डा. नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्माले एसपीपी नेपालको हितमा नरहेको भन्दै सम्झौता नगर्ने बताउनुभएको थियो । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया