ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह

 माघ १७, २०८१ बिहीबार १३:४:१६ | रासस
unn.prixa.net

काठमाण्डौ – सरकारले ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह गरेको छ ।

ढाकामा रहेको नेपाली राजदूतावासले आयोजना गरेको नेपाल र बङ्गलादेशबीचको व्यापार र लगानी सम्बन्ध विषयक कार्यशालामा दूतावासले ऊर्जा उत्पादनमा लगानी गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह गरेको हो ।

कार्यक्रममा राजदूत घनश्याम भण्डारीले नेपाल र बङ्गलादेशबीचको बढ्दो आर्थिक संलग्नताबारे चर्चा गर्दै व्यापार, ‘कनेक्टिभिटी’, ऊर्जा र पर्यटनलगायत क्षेत्रमा हासिल भएको प्रगति, नेपालबाट पहिलोपटक ४० मेगावाट जलविद्युत् बङ्गलादेश आयात, ऊर्जा सहयोगले दुई देशलाई मात्र नभई सम्पूर्ण दक्षिण एशिया क्षेत्रलाई त्यसबाट लाभ हुने बताउनुभयो ।

राजदूत भण्डारीले बङ्गलादेश व्यापारिक नेताहरूलाई नेपालको व्यापार समुदायसँग समन्वयात्मक साझेदारी निर्माण गर्न र नेपालमा उपलब्ध लगानीका अवसरहरूको उपयोग गर्न पनि आग्रह गर्नुभएको राजदूतावासले जनाएको छ ।

कार्यशालाका विशेष अतिथि लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालको लगानी वातावरण, अवसर र प्राथमिकताका क्षेत्रबारेमा विस्तृत जानकारी दिँदै ऊर्जा, पर्यटन, कृषि, सूचना तथा सञ्चार प्रविधि, शहरी पूर्वाधार, स्वास्थ्य, खानी तथा खनिजलगायत प्राथमिकताका क्षेत्रमा लगानी गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह गर्नुभयो ।

दूतावासका अनुसार बङ्गलादेश लगानी विकास प्राधिकरणका कार्यकारी सदस्य डा. खान्डोकर अजिजुल इस्लामले बङ्गलादेशका लगानी प्राथमिकताबारे अवगत गराउँदै पारस्परिक लाभका क्षेत्रमा  लगानी सम्बन्धलाई सुदृढ पार्न नेपालसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया