काठमाण्डाै महानगरकाे नीति तथा कार्यक्रम : फाेहरकाे स्राेतमै वर्गीकरणदेखि 'जनतासँग मेयर कार्यक्रम' सम्म

 असार ५, २०७९ आइतबार १८:५६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले कुहिने फोहरलाई घरमै मल बनाउनेलाई त्यही प्रयोजनमा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । 

आज आइतवार काठमाण्डाै महानगरपालिकाको नगर सभाको ११ औँ अधिवेशनमा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा यस्ताे घोषणा गरिएको हो । मेयर बालेन्द्र साहले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै फोहरलाई पुनः प्रयोग र प्रशोधन गर्न स्रोतमै वर्गीकरण गर्ने व्यवस्था मिलाइनेसमेत बताउनुभयो । 

प्रविधिमा आधारित फोहरमैला व्यवस्थापन प्रणाली उपयोग गरी महानगरको फोहरमैलाको दिगो व्यवस्थापन गरिने र यसका लागि आवश्यक अध्ययन, अनुसन्धान, प्रविधि पहिचान तथा त्यसकाे प्राप्ति, स्थापना, विकास र सञ्चालनको कार्यक्रम गर्न एक छुट्टै परियोजना गठन गरी जिरो वेस्ट अवधारणा कार्यान्वयन गर्ने नीति लिइने भएकाे छ । मेयर साहले फोहर वस्तुको सङ्कलन, ढुवानी, प्रशोधन, पुनः प्रयोग तथा त्यसबाट ऊर्जा उत्पादनका लागि काठमाण्डाै महानगरपालिकालगायत अन्य पालिकाका उपयुक्त ठाउँहरूमा वेस्ट टु इनर्जी प्लान्ट जडान गर्ने नीति लिइने पनि बताउनुभयो । महानगरपालिका क्षेत्रमा रहेका सार्वजनिक जग्गाकाे लगत राखिने उल्लेख गर्दै उहाँले ती ठाउँमा पार्क निर्माण गरिने बताउनुभयो ।

नीति तथा कार्यक्रममा हरेक महिनाको पहिलो आइतवार ‘जनतासँग मेयर कार्यक्रम’ सञ्चालन गर्ने व्यवस्था मिलाउने उल्लेख गरिएको छ । त्यसैगरी महानगरपालिकाका सबै कार्यालयमा सीसीटिभी जडान गरी सेवा प्रवाहको कामलाई निगरानीमा राख्ने व्यवस्था मिलाइएको पनि मेयर साहले बताउनुभयो । महानगरपालिकामा हलुका सवारी साधनलाई व्यवस्थापन गर्नका लागि मापदण्ड तर्जुमा गरी लागू गर्ने, महानगरपालिकाको सेवालाई होम डेलिभरी सरकारको अवधारणाअनुसार अघि बढाइने नीति पनि अघि सारिएको छ ।

मेयर साहले कर तथा गैरकर स्थानीय राजस्वको अनुगमन गर्न विशेष टोली गठन गरी परिचालन गरिने पनि बताउनुभयो । महानगरभित्र घर जग्गा तथा जग्गा बहालमा लिने/दिने कार्यलाई कम्पनीमार्फत व्यवस्थित गर्न आवश्यक व्यवस्था मिलाउने, महानगरपालिकाको कर सङ्कलनका लागि व्यवस्था गरेको अनलाइन प्रणालीलाई थप व्यवस्थित गरी सबै कर तथा गैरकरलाई करदाताको पहुँचमा वृद्धि गर्न आवश्यक प्रबन्ध मिलाउने कुरा पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । बाह्य विज्ञापन गर्ने ठाउँ यकिन गरी तोकिएको ठाउँ र आकारमा मात्र विज्ञापन सामग्री राख्ने व्यवस्था मिलाउने प्रबन्ध पनि नीति तथा कार्यक्रममा रहेको छ । मेयर साहले साविकमा रहेका विज्ञापन सामग्रीहरूलाई स्थानान्तरण गर्न आवश्यक व्यवस्था मिलाउने पनि बताउनुभयो ।

काठमाण्डाै महानगरपालिकामा रहेको सवारी साधन पार्किङको समस्या समाधानका लागि एक अध्ययन टोली गठन गर्ने कुरा नीति तथा कार्यक्रममा रहेको छ । मेयर साहले त्याे अध्ययन टोलीले दिएको प्रतिवेदनको आधारमा खुला प्रस्ताव आह्वान गरी प्रतिस्पर्धात्मक विधिबाट सवारी साधन पार्किङको व्यवस्थापन गरिने बताउनुभयो । बढ्दो सवारी चापलाई मध्यनजर गरी महानगरपालिकाको वडा नम्बर ११ मा रहेको खुल्लामञ्चसँगैको जग्गामा रिभर्स बोरिङसहितको भूमिगत पार्किङका लागि आवश्यक पूर्वाधारको निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने कुरा पनि नीति तथा कार्यक्रममा प्रस्ताव गरिएको छ । मेयर साहले फुटपाथमा पसल राख्ने कार्यलाई निषेध गर्न निश्चित ठाउँ र समय तोकी बजार व्यवस्थापन गर्ने बताउनुभयो ।

महानगरपालिकाले स्थानीय समुदायलाई करेसाबारी, कौसीबारी तथा भर्टिकल गार्डेनका लागि प्रोत्साहन गर्ने नीति पनि लिने भएको छ । महानगरवासीलाई सर्वसुलभ तरिकाले तरकारी, फलफूलहरूको आपूर्ति गर्ने व्यवस्थाका लागि शीत भण्डारको व्यवस्था गर्ने योजना पनि ल्याइएको मेयर साहको भनाइ थियो । उहाँले महानगरपालिका भित्रिने खाद्य वस्तुको गुणस्तर परीक्षणको पनि व्यवस्था मिलाउने बताउनुभयो ।

काठमाण्डाै महानगरभित्र रहेका सबै शैक्षिक परामर्श केन्द्र र ट्युशन कक्षा सञ्चालन गर्ने संस्थाको नियमन पनि हुने भएको छ । त्यसैगरी दरबार हाईस्कुललाई राष्ट्रियस्तरको नमुना विद्यालयको रूपमा सञ्चालन गर्न आवश्यक प्रबन्ध गर्ने कुरा पनि उल्लेख गरिएको मेयर साहले जानकारी दिनुभयो । सामुदायिक विद्यालयहरूमा नियमित स्वास्थ्य परीक्षण गर्ने कुरा पनि नीति तथा कार्यक्रममा आएको छ । आवासीय विद्यालयहरूमा कम्तीमा एक जना चिकित्सक र सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि अग्नि नियन्त्रण उपकरण जडान गर्न आवश्यक प्रबन्ध मिलाइने मेयर साहले बताउनुभयो । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया