गठबन्धनकाे गीत गाउन बन्द गर्नुहाेस् : अध्यक्ष नेपाल

 असार ५, २०७९ आइतबार १९:१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको गीत नगाउन पार्टी पङ्क्तिलाई निर्देशन दिनुभएको छ । 

आज आइतवार समाजवादी प्रेस सङ्गठन नेपालले काठमाण्डौमा आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष नेपालले पालिकामा आशा गरेअनुसारको परिणाम गठबन्धनबाट नआएकोले गठबन्धनको गीत नगाउन पार्टी पङ्क्तिलाई निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, ‘गठबन्धनलाई जोगाउँदै अघि बढ्नुपर्नेछ । अब चुनावको तयारीमा जुट्नुपर्छ । ६ महिनाभित्र नै सम्भवतः चुनाव हुनेछ । पालिका चुनावमा हामी गठबन्धनतर्फ बढी आशावादी भयौँ तर सोचेजस्तो परिणाम आएन । गठबन्धनको गीत गाउन बन्द गर्नुहोस् । आफ्नो शक्तिप्रति गर्ने कुरामा जोड लगाउनुस् । सङ्गठन विस्तार गर्ने कुरामा लागिपर्नुस् ।’

अध्यक्ष नेपालले पालिका चुनावमा गठबन्धन पेचिलो हुने अनुभव बटुलेको भन्दै प्रदेश र प्रतिनिधि सभाको चुनावमा सिट बाँडफाँटमा कठिनाइ नहुने बताउनुभयो । उहाँले आउँदो प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा सहमति गरेर र सहमति नजुटेको ठाउँमा एक्ला–एक्लै चुनाव लड्ने बताउनुभयो । आउँदो चुनावसम्म गठबन्धन कायमै रहने र त्यसपछि पनि गठबन्धनलाई अघि लैजाने विषयमा छलफल भइरहेको उहाँको भनाइ छ । 

अध्यक्ष नेपालले स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) ले अहिले नयाँ तरङ्ग पैदा गरेको भन्दै जनता यसका लागि सचेत रहनुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हित विपरीत सम्भौता नगर्ने प्रतिबद्धता जनाउनुभएको भन्दै शङ्का गरिरहन आवश्यक नरहेको पनि बताउनुभयो । 

अध्यक्ष नेपालले अहिले नेपालमा प्रतिगमनको कुरा धेरै उठिरहेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले प्रतिगमन भनेको राजालाई सत्तामा ल्याउने कुरा भएको र अहिले देशमा धेरै ठूलो षड्यन्त्र चलिरहेको बताउनुभयो । अध्यक्ष नेपालले राजा ल्याउने कुरा किमार्थ सम्भव नरहेको भन्दै राजाहरूलाई देश लुटेर नपुगेकाहरूको संज्ञा पनि दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया